लन्डन नोभेम्बर १६ । क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेले नवनियुक्त संरक्षक र सल्लाहकारहरुलाई सम्मान गरेको छ ।
गत सेप्टेम्बरमा भएको संस्थाको तेस्रो महाधिवेशन तथा सातौं साधारणसभाबाट नियुक्त भएका संरक्षक र गत महिनामा जुम बैठकबाट नियुक्त भएका सल्लाहकारहरुलाई १४ नोभेम्बर २०२१ आइतबार अल्डरसट एम्पायर हलमा एक कार्यक्रमबीच सम्मान गरिएको हो । सम्मानित हुने संरक्षकहरुमा क्याप्टेन जीवनकुमार गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ तथा पूर्वअध्यक्ष अनेरी लेफ्टिनेन्ट चन्द्र गुरुङ छन् ।
क्वोने समाज स्थापनालगायत कार्यक्रमा महत्वपूर्ण सहयोग दिइएको भन्दै गुरुङत्रयलाई समाजका वर्तमा कार्यसमिति तथा चेलीबेटीहरुले बधाईसहित सम्मान गरेका हुन् । सोही अवसरमा संस्थालाई सहयोग पुर्याउने ८२ जना सल्लाहकारलाई सम्मान गरिएको थियो ।
त्यस्तै तमु धिं यूकेले प्रदान गर्ने ‘आदर्श तमु अवार्ड २०११’ का विजेताद्वय समाजका उपाध्यक्ष एवं सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, क्वोने (घोताने) भाइखलकका टेकबहादुर गुरुङ, कार्यसमिति सदस्य यशोधा गुरुङ, तमु धिं यूके आमा समूहकी अध्यक्ष सीता मन्जु गुरुङ, क्वोने समाज यूके चेली समाजकी सल्लाहकार नन्दकुमारी गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा समाजका विशेष सल्लाहकारहरु काउन्सिलर तथा निवर्तमान उपमेयर लक्ष्य गुरुङ, एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङलगायतको उपस्थिति थियो ।
समाजका महासचिव इन्द्र घोथानेले सञ्चालन गरेको कार्यक्रममा क्वोने समाज यूकेकी चेलीबेटी प्रमुख एवं समाजसेवी चन्द्रदेवी गुरुङले विभिन्न विषयमा आफ्नो धारणा राखेकी थिइन् ।






