लन्डन नोभेम्बर १८ । सहारा यूकेले निर्वाचन आयोजक समिति गठन गरेको छ । छैटौँ कार्यसमितिको अन्तिम बैठकले सहारा यूकेका संस्थापक सल्लाहकार तथा सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् । समिति सदस्यमा सहारा यूकेका सल्लाहकार तथा सहारा क्लबका मानार्थ सदस्य लोक गुरुङ र सहारा यूके एफसीका पूर्वअध्यक्ष तथा सल्लाहाकार हरिकुमार श्रेष्ठ रहेका छन् ।
आउँडो डिसेम्बरमा छैटौं कार्यसमितिको पदावधि सकिने र डिसेम्बर १८ मा अधिवेशनको समय निर्धारण गरिएको संस्थाका सचिव तथा नेपाल प्रहरीका पूर्वडिएसपी वाचस्पती रेग्मीले जनाएका छन् ।
कार्यसमितिको पूर्ण बैठक सुरु हुनुअघि महासचिव स्व. धनु पुरन थकाली र पूर्वअध्यक्ष दिलीप गुरुङका बुबा स्व.गंगा गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरी तस्बिरमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको सचिव रेग्मीले जानकारी दिए । महासचिव थकालीको गत असोज २१ गते यूकेको ५२ वर्षको उमेरमा अल्डरसटमा निधन भएको थियो ।
बैठकमा संस्थापक सल्लाहकार महेश गुरुङले सहारा यूकेको तर्फबाट पोखरास्थित नौलो घुम्तीमा हस्तान्तरण गरेको रकम तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आजीवन सदस्यता अभियानका बारेमा जानकारी गराएका थिए । सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यसमितिको बैठकमा उपाध्यक्ष ले.रि.कुसाङ गुरुङ र सचिव रेग्मीले संस्थाको विविध गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शारदा गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, तमु धिं यूकेका संस्थापक अध्यक्ष तथा सहारा यूकेका सल्लाहाकार मिनप्रसाद गुरुङ, तमुधिं यूकेका अध्यक्ष तथा सहारा यूकेका सल्लाहकार हितकाजी गुरुङ, तमु धिं यूकेका पूर्वअध्यक्ष तथा सहारा यूकेका सल्लाहकार रामचन्द्र गुरुङ, बगर भाइखलक यूकेका अध्यक्ष तथा सहरा यूकेका सल्लाहकार दिलरास गुरुङ र पूर्वअध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ (सिएम), बुद्धिष्ट गुम्बा रिडिङका अध्यक्ष इन्स्पेक्टर खिम गुरुङ, सहारा यूकेका सल्लाहकार रामचन्द्र गुरुङलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।






