
भरतमणि चोङबाङ
प्रबक्ता: एनआरएनए युके
लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार (मंगसिर १५ गते) हुने भएको छ। पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना गरिएको थियो। संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ। राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका अध्यक्ष तथा एनसीसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषदलाई दशौँ महाधिवेशन गर्ने म्यान्डेट दिएकोमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे भेलामा छलफल गरिने बताए।
“पन्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकार विरुद्ध मुद्दा मामिला गर्नु एनआरएनएजस्तो सामाजिक संस्थालाई सुहाउने काम होइन । यो अत्यन्तै गैर जिम्मेवार कार्य हो। यसबारे पनि भेलामा छलफल हुने छ,” सुवेदीले भने। उनले भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिने र भेलाको निष्कर्ष संघका विभिन्न निकाय लगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने उनले जनाए।
एनसीसी बेलायतका अध्यक्ष तथा एनसीसीहरुको पहिलो विश्व भेला तयारी समितिका एक सदस्य, प्रेम गाहा मगर, ले संघ विवादबाट गुज्री रहेका बेला एनसीसीहरु मूकदर्शक भएर बस्न नसक्ने बताए।
“राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु गैर आवासीय नेपाली संघका जग हुन्। संघको इतिहासमै दशौँ महाधिवेशन तथा चुनाव हुन नसकेको बेला हामीले पहिलो विश्व भेला बोलाएर छलफल गरेका थियौं। दोश्रो भेलामा हामी थप छलफल गरी संघको वर्तमान संकटलाई निकास दिन रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौं,” गाहा मगरले भने।यस अघि पहिलो विश्व भेलाको निष्कर्ष गाहा मगरले गत महिना बेलायत भ्रमणमा आएका प्रधानमंत्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेका थिए।






