सुजन तामाङ
आस्फोर्ड । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) केन्टको दोस्रो च्यारिटी डिनर कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गत २३ जुन शनिबारका दिन आस्फोर्डस्थित हकिङ्ग कम्युनिटी सेन्टर हलमा आयोजित सो डिनर कार्यक्रमलाई आस्फोर्ड काउन्सिलका काउन्सिलर जेनी वेब र खेन्पो शिर लामा गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । खेन्पो शिर लामा गुरुङले कार्यक्रम सफलताको कामना गर्दै बुद्ध मन्त्र (टशी ज्ञापा) वाचन गरेका थिए । त्यस्तै, शान्ती स्याङ्बो तामाङ र रक्षे बहादुर योन्जन तामाङको समूहले बुद्ध भजनअन्तर्गत चेन्ग्रीसी मन्त्र नमोरत्नया वाचन गरेका थिए ।
बिसीसी केन्टका अध्यक्ष फुर्बा गर्जा शेर्पाले सन् २०१५ मा स्थापना भएको छोटो अवधिमा नै संस्थाले धेरै उपलब्धीहरु हासिल गरेकोमा खुशी व्यक्त गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिए । साथै, उनले छिटो भन्दा छिटो गुम्बा स्थापना गरी सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई सेवा प्रदान गरिने जनाए । संस्थाका सचिव कविराज घिसिङ तामाङ्गले संस्थाले परिकल्पना गरेको भावी गुम्बाको नक्सा एवं ढाचाहरु प्रस्तुत् गर्दै गुम्बाले दिने सेवा र सुविधाका बारे जानकारी दिए । त्यस्तै पुष्पा योन्जन तामाङ र धागो दबलमको आयुस्मान राईले, ‘जाग चम्क लम्क है नौ जवान हो …’ भन्ने देशभक्ति गीत गाएका थिए ।
रक्षे बहादुर योञ्जन तामाङको संयोजन र साइना गुरुङले संचालन गरेको विविध सांस्कृतिक कार्यक्रममा करिश्मा राई, सुजाता गुरुङ र धागो धबलम लगायत स्थानीय कलाकारहरुले कौडा र सेलोलगायत विभिन्न गीतमा नृत्य प्रस्तुत् गरे । कार्यक्रममा सचिब कविराज घिसिङले कार्यक्रम संचालन गर्दै संस्थामा १४ जना ट्रष्टी सदस्यहरु थपिएको जानकारी गराउदै सबै दानवीरहरुलाई स्वागत तथा धन्यवाद दिए ।
कार्यक्रममा आस्फोर्ड काउन्सिलका काउन्सिलर जेनी वेबले प्रमुख अथितिको आशनबाट बोल्दै ‘समाजमा नेपालीहरुले गरेको योगदानको चर्चा गर्दै बिसीसी केन्टलाई सक्दो सहयोग गर्ने बाचा गरे । त्यस्तै, संस्थाका कोषाध्यक्ष गणेश गुरुङले छिटै गुम्बा बन्ने विश्वास व्यक्त गरे ।
शान्ता गौचन, तारा गुरुङ र ज्ञानु गुरुङको समूहले राफल ड्र संचालन गरेर मनोञ्जन प्रदान गरिएको कार्यक्रममा अध्यक्ष तमुधि युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूहकी अध्यक्ष प्रेमा गुरूङ, तमु फोरम युकेका संयोजक क्या. राजु गुरूङ, सचिव हरि गुरूङ, फोल्कस्टन नेप्लिज कम्युनिटीका उपाध्यक्ष टीका सिं ठकुरी, काउन्सिलर नवीन सिवा, काउन्सिलर टासि भुटिया, याक्खा चुम्मा युकेका अध्यक्ष धन लिम्बू, शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पा, छन्त्याल संघ युकेका झक छन्त्याल, गोर्खा पिस फाउन्डेसनका भिम लिम्बू, सगरमाथा नेप्लिज कम्युनिटीका अध्यक्ष भास्कर टिटुङ, मगर संघ केन्ट शाखाका अध्यक्ष बिजय हितान मगर, विशिष्ट व्यक्तित्व, डाक्टर र धर्म गुरुहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कोष संकलन गर्ने उद्देश्य अनुरुप आयोजित च्यारिटी डिनर नाईट कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक तथा उपाध्यक्ष शान्ता तामाङ्गले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सहयोगी हातहरुलाई विशेष धन्यबाद दिए । उनले गोरखा भान्सा घर आसफोर्डका शुष्मा लिम्बू र पेय पदार्थका ब्यवस्थापक साना सेर्पा, धागो ब्यान्ड टिम, कल्चर टिम र राफल ड्र ब्यबस्थापक आमा समूहलाई धन्यवाद दिए ।






