लण्डन मंसिर १५ ।

बेलायतमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिइने भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।
यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए । उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए।
बेलायतको संयुक्त खोप समितिले दोस्रो डोज खोप र बुस्टर डोज लगाउने समयावधिलाई पनि घटाउन सुझाव दिएको छ । यसअघि दोस्रो डोज लगाएको छ महिनापछि मात्र बुस्टर डोज लगाउन दिइएकोमा त्यसलाई तीन महिनामा झारिएको छ ।






