पोखरा, १५ मंसिर । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको छैटौ वार्षिक साधारणसभा र दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षहरुमा भरतराज शाक्य र राजबहादुर गुरुङ, सचिवमा पूर्ण लामा, कोषाध्यक्षमा श्याम शाक्य, सहसचिवमा हुमबहादुर गुरुङ रहनुभएको छ । यसरी नै सदस्यहरुमा मे.लक्ष्मीप्रसाद गुरुङ, सु.इन्द्रबहादुर गुरुङ, कुमारबहादुर क्षेत्री, नरेन्द्रमान लालचन र लामा अमृतबज्र महर्जन रहनुभएको छ। बिधानत: अन्य चार जना सदस्य अध्यक्षबाट मनोनित गरी पन्ध्र सदस्यीय समिती बनाउने प्रावधान छ ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक तिर्थ श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि कर्णेल रामकाजी गुरुङले खादा लगाई दिँदै आशीर्वाद प्रदान गर्नुभएको थियो । कार्यसमिति निर्वाचित गर्न संस्थाका सल्लाहकार तिर्थ श्रेष्ठको अध्यक्षतामा सल्लाहकारहरु बिलबहादुर गुरुङ र शंकर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचित कार्यसमितिलाई संयोजक श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी कर्णेल रामकाजी गुरुङले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो। यसअघि साधारणसभामा सचिव राजबहादुर गुरुङले पेश गर्नुभएको वार्षिक प्रतिवेदन, कार्यवाहक कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सदस्य तथा बिधान संशोधन समिति संयोजक हुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको बिधान संशोधन प्रस्ताव पारित गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कर्णेल रामकाजी गुरुङ, सल्लाहकार तथा निर्वाचन समिती सदस्य शंकर गुरुङ, कोने/घोताने/घोन्डे समाज युकेका अध्यक्ष क्या.पिताम्बर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव राजबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
कार्यक्रममा कोने/घोताने/घोन्डे समाज युकेका नवनिर्वाचित अध्यक्ष क्या.पिताम्बर गुरुङलाई बधाई तथा शुभकामना सहित स्वागत गरिएको थियो।






