लन्डन डिसेम्बर ५ । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी चयन भएका छन् ।
संस्थाको शनिबार भएको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी रेग्मीको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । यसअघि उपाध्यक्ष रहेका रेग्मीले निवर्तमान अध्यक्ष भीम बानियाँले राजीनामा दिएपछि झण्डै ४ महिना अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा विक्रम भट्टराई, महासचिव तानिया जैन, सहसचिव हरि भट्टराई, कोषाध्यक्ष निरज शर्मा, सहकोषाध्यक्ष निरज तिवारी चयन भए ।
सदस्यहरुमा शरद कुलकर्णी, भक्त दर्जी, जितेन्द्र श्रेष्ठ र नारायण गिरी निर्वाचित भएका छन् । अधिवेशनले १३ सदस्यीय नयाँ ट्रष्टी पनि चयन गरेको छ जसमा अध्यक्ष रेग्मी, उपाध्यक्ष भट्टराई, महासचिव जैन, सहसचिव भट्टराई, कोषाध्यक्ष शर्मा, सहकोषाध्यक्ष तिवारी र शंकर श्रेष्ठ, अरविन्द सहानी, रामचन्द्र सूर्य गुरुङ, सुष्मा गुरुङ, बेम थापा, एबी गुरुङ र हर्क गुरुङ छन् ।
निर्वाचन संयोजक रि. मेजर सूर्य उपाध्याय, सदस्यहरु सुनिता जैन र काउन्सिलर जीव बेल्बासेले निर्वाचन सम्पन्न गरी सबै पद निर्विरोध भएको घोषणा गरेका थिए । मेजर रि. सूर्यप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र अतिथीहरु तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, काउन्सिलर जीव बेलवासे, अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष पुरन गिरी, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ, समाजसेवी एकेन्द्र गुरुङ, कार्यसमिति पदाधिकारीहरु, ट्रष्टीहरु, पूर्व अध्यक्ष सुनित जैन, पूर्व डिएसपी शिवजी श्रेष्ठ, फेमिली फोरम अल्डरसटका सदस्यहरु, चौतारी समूहका संयोजक विष्णु श्रेष्ठ एवं सदस्यहरु लगायतको उपस्थिति थियो ।
सो अवसरमा मन्दिरका भोलेन्टिएर भीम बहादुर गुरुङलाई ‘बेष्ट भोलेन्टिएर’ सम्मान पनि प्रदान गरिएको छ । च्यारिटी संस्थाले बेलायतस्थित नेपाली र अन्य समुदायबाट चन्दा संकलन गरि झण्डै ३ लाख पाउण्डमा भवन खरिद गरी थप करिब डेढ लाख पाउण्ड खर्चेर शिव मन्दिर तथा सामुदायिक भवन निर्माण गरेको हो ।






