काठमाडौं पुष १ ।

गैरआवासीय नेपाली संघ एनआरएनए १० औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् ।
उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा.यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन् । उक्त समितिले आफ्नो काम थाली सकेको र अहिले सम्म २ ओटा बैठक बसीसकेको समितिका एकजना सदस्यले ग्लोबल नेप्लिजलाई बताए। उनले समितिमा डेलिगेट्स विवाद समाधान लगायतका सबै जसो विषयहरुमा छलफल भएको र अहिले सम्मको प्रगति सकारात्मक रहेको बताए।
अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख छ । उनले संवाद र सहमतिका लागि समिति गठन गरेको पनि जनाएका छन् ।
यसैबीच बुधबार नै निर्वाचन समितिले एक सूचना प्रकाशित गरी निर्वाचनका लागि उपलब्ध हुनु पर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त न भैसकेकाले छानबिन प्रक्रिया प्रभावित भै यस अघि प्रकाशित गरिएका निर्वाचन मिति बाहेकका सबै कार्यतालिका स्थगन गरिएको जनाएको छ ।






