ल्होछारमा रमाए साउथ इष्ट लन्डनका तमुहरु

SHARE:

लन्डन डिसेम्बर २९ । साउथ इष्ट लन्डनका तमुहरु ल्होछार पर्वमा रमाएका छन् । साउथ इष्ट रिजनल तमुधिंको आयोजनामा सोमबार प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा सयौं तमु तथा गैरतमुहरुको उपस्थितिमा ल्होछार मनाइएको हो ।

साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ल्होछारको शुभकामना आदान प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डन मात्र नभइ लन्डनका अन्य क्षेत्र, केन्ट, अल्डरसटदेखि रेडिङ, स्वीन्डनसम्मबाट अतिथिहरु आएका थिए ।

स्थानीय ग्रीनवीच काउन्सिलका काउन्सिलरसहितका प्रतिनिधि पनि उत्सुकतापूर्वक ल्होछार कार्यक्रममा सहभागी भए । उल्लेख्य संख्यामा उपस्थित गैरतमुहरुले पनि ल्होछार उत्सवमा रमाइरहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले बेलायतमा मौलिक नेपाली संस्कृति र परम्पराको संरक्षण गर्न कार्यक्रमले सहयोग पुरयाएको धारणा राखिन् । विदेशमा बस्ने नेपालीहरुले नेपाली कला, संस्कृतिको प्रवर्धनमा पुरयाइरहेको योगदान कदरयोग्य रहेको भन्दै उनले अब नेपालको आर्थिक विकास र समृद्धिमा एवं पर्यटनमा पनि सहयोग गर्नुपर्ने बेला आएको बताइन् ।

त्यसअवसरमा विशेष अतिथिहरु एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, ग्रीनवीच बरोका काउन्सिलर म्याथ्यू मरो लगायतले ल्होछारको शुभकामना दिएका थिए । कार्यक्रमका सभापति एवम् आयोजक साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष ह्यारी गुरुङले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि एवम् तयारीमा खटिने संस्थाका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामी वर्ष संस्थाको बीसौँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउने तयारी रहेको जानकारी गराए ।

कार्यक्रममा दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल, आरजीएनएस अध्यक्ष जीत रानाभाट, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए अभियन्ताहरु रामशरण सिम्खडा, शिवजी श्रेष्ठ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, फडिन्द्र भट्टराई, प्रवासी नेपाली मञ्च युरोप उपाध्यक्ष विनोद ज्ञवाली, अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, बेक्सली नेप्लिज कम्युनिटीका अध्यक्ष आनन्द धरेल लगायतको उपस्थिति थियो ।

कार्यक्रमको पहिलो सत्र महासचिव सूर्य गुरुङ तथा दोस्रो सत्र कार्यक्रमका संयोजक समेत रहेका सूर्य गुरुङ र सन्देश गुरुङले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष पीके लामाले दिएका थिए । कार्यक्रममा नेपालबाट आएकी गायिका पवित्र गुरुङले विशेष प्रस्तुति गरेकी थिइन् । समस्त पिताहरुमा समर्पित ‘बाबा’ बोलको गीत गाउँदा स्टेजमै भावुक बनेकी गायिकाले पछि थुप्रै रमाइला गीत गाएर दर्शकलाई नचाइन् । त्यसअवसरमा स्थानीय कलाकारहरुले पनि गीत, नृत्य लगायतका प्रस्तुतिमार्फत् मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा संस्थामा विशेष योगदान गर्ने खड्क गुरुङ, मनिता घले र धनु घलेलाई ‘कम्युनिटी हिरो’ अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, गैरतमु समुदायका आधा दर्जन बढी सामाजिक अभियन्ताहरुलाई संस्थाको मानार्थ सदस्यको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा लन्डन बार्किङस्थित ‘गाउँले चुल्हो’ ले स्वादिष्ट नेपाली परिकारहरु पस्किएको थियो । ल्होछार कार्यक्रमका लागि गाउँले चुल्होले पहिलोपटक पस्किएका परिकार कार्यक्रमका सहभागीहरुले खुबै मन पराए ।

अतिथिहरुका लागि सेलरोटी, अचार लगायत आइटम भने आयोजक संस्थाकै आमा समूहका सदस्यहरुले तयार पारेका थिए ।अध्यक्ष ह्यारी गुरुङ अतिथि सत्कारमा आफैं खटिएका थिए । आयोजकले अतिथि सत्कार र कार्यक्रमस्थल सजावट मौलिक तरिकाले आकर्षक बनाएका थिए ।

संस्थाले विगतमा जस्तै यस वर्ष मञ्जुश्री बालबालिका संरक्षण केन्द्र, काठमाडौं जोरपाटीको लागि सहयोगस्वरूप १ हजार पाउन्ड प्रदान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!