मित्रसेन थापाको डायरीबाट

SHARE:

दैनन्दिनी

मित्रको डायरी 

(१३ जुलाई १९४४ देखि ९ अप्रैल १९४६ सम्म मास्टर मित्रसेन र १ अक्टोबर १९४४ देखि ९ अप्रिल १९४४ सम्म दिग्विजय सेनबाट लिखित डायरी ।)

आफ्नो जीवनको धेरैजसो भाग देसी वा गोरखाली जनताको सेवामा बिताएपछि १३ जुलाई १९४४ को दिन दाडी गाउँ, धर्मशाला (भाग्सू) जिल्ला कांगडामा मैले आफ्नो बाँकी जीवन “गोर्खा सतसंग प्रचारिणी सभा ” लाई समर्पित गर्ने फैसला गरे । यो सभाको स्थापना पनि आजै त्यहाँ गरियो । सभाका प्रमुख कार्यकर्ताहरु मध्ये कप्तान बहादुरसिंह बराल, मास्टर नत्थुराम बी. ए. बी. टी., पेंशनर जम्दार रामकृष्ण, थानेदार दुर्गासिंह, पेंशनर सुवेदार दयारामज्यू बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिज्ञा त भयो तर केटाकेटीले गरेको कुरा झैँ पो हुने हो की भन्ने डर पनि मनमा उत्पन्न भयो । एकापट्टि परिवारको निर्वाह र अर्कोपट्टि समाज सेवाको उत्कट अभिलाषाले मन विचलित हुन थाल्यो । तर परमात्मामा मेरो अटल विश्वास रहेको हुँदा र निस्वार्थ भावनाले समाजको सेवा गर्ने दृढ अठोटले गर्दा के खाँउला, के लाँउला भन्ने चिन्तालाई परित्याग गरी म समाज सेवाको सत्य मार्ग तर्फ नै लागें । सभाका कार्यकर्ता भला आदमीहरुलाई पनि यही नै चिन्ता रहेको रहेछ । अघि अघि पनि धर्म प्रचारको काम गर्दै रहन्थे तर त्यस बेला त केही न केही आम्दानीको बाटो राखेकै थिए । एक सानो पसल (दोकान) गाउँ तातोरानी (भाग्सू) मा उहिले बाबुकै पालादेखि चलाउँथे र निर्वाह राम्रै गरी भएकै थियो । तर आजभोलिको विश्व-व्यापी युद्धले गर्दा रेलवेले माल बुक नगर्ने, खोजेको माल बेलामा नपाइने, कहिले कतै अलिकति माल पाएतापनि सार्है महँगो पाइने, सरकारले भने यस दर भन्दा बढ्ता दाम कसैले लिने छैन भनि धेरै चिजको दर भाउ बांधी दिएको, आफुलाई चै त्यो भाउमा न पुग्ने । सार्है अफ्ठ्यारो पर्न गयो अन्त पसलको काम बन्द गर्न बाध्य भए । कसैसँग केही नलिई आफ्नो भिन्दै सात्विक कमाइ गरी परिवार निर्वाह गर्ने अनि बाचेको समयमा जनताको सेवा गर्ने मेरो विचार । तर यस विचारलाई पुरा हुन नदिने एउटा अर्को कारण पनि थियो- म सन् १९४० को श्रावण मास देखि रोग ग्रस्त भएको बल्ल बल्ल यस साल (सन् १९४४) मा बिरामीले अलिकति छोडेको छ तर पूर्ण रोग नाश नहुनाले शरीर सार्है निर्बल छ । कुनै प्रकारको सात्विक कमाइ गर्न सक्ने बल शरीरमा छैन । अत: सभाको निर्णय अनुसार समाजकै माथि परिवारको भार थोपी, नाम मात्रको, ढाँट स्वयंसेवक हुन स्वीकार गरें । छी: छी: कति नसुहाउदो कुरा गर्दैछु कति ठुलो आत्मघात म गर्दैछु । यस्तो आत्मग्लानि लिएर मैले सभाको कारवाही बहीमा हस्ताक्षर गरि दिएँ । सभाको तर्फबाट मलाई सर्वप्रथम नौतुना गएर प्रचार गर्नु भन्ने हुकुम भयो । आदेश पाउनासाथ घरादिको बन्दोबस्त मिलाई परिवारसहित नौतुना जान तयार भए । घर अनि दोकान दुवै २२ रुपियाँ मासिक किरायामा दिए, त्यस किरायाबाट १५० रुपिया लिए, डेढ सय जति रुपिया मैले ऋण पनि तिर्नु थियो । अत: बाटो खर्च पुग्दैन कि भनी मैले १८ जुलाईमा एक पत्र कप्तान साहेब बहादुर सिंह बरालज्यूका हजुरमा पठाएँ । पुगनपुग बाटो खर्चका लागि १०० रुपैयाँको सहायता गर्नुहोस् । आश थियो कप्तान साहेबले अवश्य रुपियाँ पठाइ दिनु हुनेछ तर २७-७-४४ को दुई बजेसम्म बाटो हेर्दापनि रुपियाँ आइपुगेन । मनमा अनेक कुराहरु खेल्न थाल्यो । मैले भने १-८-४४ देखि घर अर्कैलाई किरायामा दिईसकेको, पहिला अगस्तको बिहानै घर अवश्य छोड्नु थियो । तर बाटो खर्चलाई कसो गरु ? ऋण नदिउँ भने पनि नहुने । ऋण दिउँ भने बाटो खर्च नपुग्ने । के कति कारणले कप्तान साहेबले रुपियाँ पठाउनु भएन ? उहाँले त बचन दिनुभएको थियो – जहिलेसम्म सतसंग प्रचारिणी सभामा धन एकत्र भएको छैन, म पुरा गरुँला । उनकै आशा भरोसामा मैले यो कार्यभार उठाउने निश्चय गरेको थिएँ; किनभने आज १५-२० वर्षदेखि ठाउँठाउँ गोर्खाली संसारमा प्रचार गरी हिड्दा, अन्तरआत्माले जातिको हित चिताउने अनि जातिका लागि तन-मन-धन सबै अर्पण गरी कर्तव्य क्षेत्रमा हामफाल्ने जाति-प्रेमीहरु मैले कप्तान साहेब बहादुरसिंह बराललाई भेटाइको थिएँ ।

तर २८-७-४४ सम्म पनि न केही पत्र आयो न रुपियाँ । के कप्तान साहेबले आफ्नो विचार अर्कै गर्नु भएर होकी ? तुरुन्तै एउटा एक्सप्रेस तार २८ जुलाईको तीन बजेमा धर्मशाला छाउनीको तारघरबाट पठाएँ, “पहिला अगस्तमा हिड्ने विचार छ हजुरको के आज्ञा छ” । जसको उत्तर २९-७-४४ को तीनबजेमा “हुन्छ आउ” भन्ने तार द्वारा पाएँ । त्यो तार नपाउँदा सम्म त अब अघिकै झै स्वतन्त्र प्रचार गर्नु पर्‍यो भनि ठाउँठाउँको प्रोग्राम बनाउँदै थिए । सो तार हात पर्दा मन ढुक्क भयो; प्रोग्राम त नौतुनैको भयो, तर खर्च कसो गर्ने ? साहुको ऋण पछि तिरुला भन्ने निश्चय गरी १ अगस्टको बिहान साढे आठ बजे डाकमोटरमा पानीले भिज्दै घर छाडी हिँड्यौ । गग्गल-शाहपुर-कोटला सबै ठाउँमा पानी झमाझम पर्दै थियो । मोटरको छानामा राखेको सामानमाथि तिरपाल ओढाइएको थियो । तर पूरा नछोपिएको हुनाले असबाब सब भिजिसकेको थियो । भाल्ली भन्ने ठाउँबाट कोटलासम्म त झन मोटर पाँच माइल प्रति घण्टाको हिसाबले हिँड्न लाग्यो । ठाउँठाउँमा पहिरो गएर सडकै थुन्निएको, डाँडाहरुका खोल्चा-खोल्चीको भल जम्मै सडकको माझमा बगिरहेको थियो; मानो सडक के थियो ? एक खासा ठुलो खोला झैं थियो । जसोतसो गरी चक्की नदी पार भयौं; बल्ल पानी पनि थामियो । झन्डै दुई बजे तिर हामी पठानकोटको रेल स्टेसन नेर आइ पुग्यौं । रेलैको बाटो जाऔं भनी मैले स्टेशनैमा असबाब उतार्न लगाएँ । हत्तपत्त टिकेट बाबुकोमा गएर टिकट माँगे । टिकट दिने समय भएको छैन भनि भन्यो । तर दुनियाँ लोभी छन्, दुई चार पैसा अफ्ठ्यारो परेका परदेसीबाट फुत्काउनका लागि पनि अहिले समय भएको छैन भनि भन्दछन् । सो कुरा विचार गरी तिनीहरूलाई पान-फुलका लागि भिन्दै भेटी चढाएँ र बल्ल चार टिकेट पठानकोट देखि गोरखपुर सम्मको ८३ रुपिया १२ आना खर्च गरी इन्टर किलासको लिएँ । थर्ड किलासको टिकट लिएर म जस्तो रोगीले सफर गर्नु आजभोलि साह्रै कठिन छ । भित्र ठाउँ नपाएर झुन्डिएर मुसाफिरहरु सफल गर्छन् । रेलमा ठाउँ नपाएर तीन-चार दिनसम्म स्टेसनमा मानिसहरु थुप्रिएका देखिए । माराकुटी घुचेटा-घुचेटमा निर्बल मानिसहरु कसरी सफर गर्न सक्छ ? भएन भनेर संगमा मेरी स्त्री अनि ८५ वर्ष पुगेकी वृद्ध महातारी पनि हुनु हुन्थ्यो । हुल त आजभोलि सबै किलासमा हुन्छ तर इन्टर किलासमा पढेलेखेका भला आदमीहरु नै धेरै हुन्छन्; अलि मारकुट घुचेटा-घुचेट हुँदैन । बस्ने ठाउँ नपाएपनि उभिने ठाउँ त अवश्य पाइन्छ । यस्तो विचार गरि इन्टर किलासको टिकट लिन करै लाग्यो । टिकट लिएर माल बुक गराउन भनि गएँ । त्यहाँ पनि बाबुले आलेटाले कुरा गर्न थाल्यो । यसले खोजेकै हो भन्ने ठानी त्यसलाई पनि भेटी चढाएँ । भेटी पाउन साथ झट्टै माल जोखजाख पारी बिल्टी काटी हातमा थमायो । जम्मै कुरा ठीक ठाक पार्दा मलाई रुपिया पाँच बेसी खर्च गर्नु पर्‍यो । यता-उता सोधपुछ गर्दा थाहा भयो कि एक डब्बा (कोच) तीन बजेमा पठानकोटबाट अमृतसर जान्छ, पाँच बजे अमृतसर पुग्छ र सात बजेर चालिस मिनेटमा अर्को रेल अमृतसर-हावडा मेल छुट्छ । तर त्यसमा सार्है हुल हुन्छ । हुल भएपनि जसोतसो यसै डब्बामा जाउँ भन्ने निश्चय भयो । डब्बा आइ पुग्यो । कस्तो हुल थियो, मलाई यहाँ वर्णन गर्न पनि गार्है छ । एक खासा मल्ल युद्ध मचियो, वृद्ध महतारीलाई लिईकन त्यस घचारोमा कसरी पसौ, म आफै कमजोर । कोही भित्रबाट बाहिर झर्ने, कोही बाहिरबाट भित्र चढ्न खोज्ने; रेल डब्बाको ढोकामा ठ्याम्मै बुजो लागे जस्तो भयो । न बाहिरको भित्र पस्न सक्ने न भित्रको बाहिर आउने सक्ने; यस्तै संघर्षमा हामी पनि जुझ्दै थियौं । यत्तिकैमा एउटा पुलिसको सिपाही आएर ढोकामा उभियो र पहिले भित्रका मुसाफिरहरुलाई बाहिर उतारेर, बाहिरकालाई भित्र चढायो । त्यस्ता गर्नाले घचारो भएतापनि मानिसहरूले ठाउँ पाइ हाले । रेलगाडी पाँच बजे अमृतसर पुग्यो । वहाँ फेरी उस्तै धक्कापेल सुरु भयो । त्यस घचारोमा च्यापिएर प्राण निस्किन्छ क्यारे भने झै भयो । बुढी माउलाई जोगाउनु कठिन पर्‍यो । बलिया मानिसहरु त टाउको टाउकोमा टेक्ने झै गरी फाल काट्न लागे । न ओर्लिन सक्ने न आफ्नो ठाउँमा फर्किन सक्ने । बल्लबल्ल फर्किने बाटो पाएर आफ्नै ठाउँमा गएर बस्यौं । आठ-दस मिनेटपछि घचारो अलि कम्ति भयो र घचेट घचाँट पारेर बाहिर निस्क्यौं । पहिले हाम्रो सल्लाह थियो लुक्सरसम्म यसै गाडी (कलकत्ता मेल) मा गएर त्यहाँदेखि हरिद्वार जाउँ, आमालाई संगमा ल्याउने मुख्य कारण पनि दुई चार तीर्थ घुमाइदिउँ भन्ने थियो । तर त्यस घचारोले गर्दा आमाको मन फेरियो । भयो, पछि फर्कदा सुविस्ता पर्‍यो भने हरिद्वार स्नान गरुँला, अहिले चाहि सोझै जाउ, काशी जान पाइयो भने हरिद्वारको महात्म्य पनि भई हाल्छ । अन्त यही निर्णय भए र सोझै लखनौ उत्रियौं । राति दस बजे गोरखपुरको गाडी चढी ३ तारिखको बिहान ७ बजे गोरखपुर पुग्यौँ । कप्तान बराल साहेबको दर्शन भयो अनि थाहा भयो कि उहाँले १४-७-४४ मा १०० रुपियाँ मनि आर्डर गरेर पठाई दिनु भएको रहेछ । तर कुन्नि के कारण पर्‍यो पैसा चाहि मेरो हात परेन । माल असबाब नआइपुगेको हुनाले तीन दिन कप्तान साहबकै पाहुना भएर बस्यौं । ५ तारिख साँझको गाडीमा बसी राती डेढ् दुई बजे नौतुना पुग्यौं । कप्तान कालु कहाँ हाम्रो डेराको बन्दोबस्त रहेछ । सो त्यहाँ पुगी रात बितायौं । बिहान भयो, सुबेदार साहेब गिरधारी विष्ट जो त्यहाँ एसिस्टेन्ट रैकरुटिंग अफिसरको काम गर्दै हुनुहुन्थ्यो, आउनु भयो अनि उहाँले राशन पानी इत्यादिको बन्दोबस्त मिलाई दिनु भयो । १० अगस्त १९४४ (बिहिवार) मा सतसंगको पहिलो कार्यक्रम नौतुनामा राखियो । ११ अगस्ट (शुक्रबार) कृष्ण-जन्माष्टमीको उत्सबमा भाग लिनका लागि निम्त्याइएको हुनाले म र मेरो छोरो दिग्विजयसेन कुंडाघाट (गोरखपुर) मा गयौं । राति नौ बजेदेखि साढे बारह बजेसम्म काली मन्दिरमा धुमधाम सँगले कथा-वार्ता-भजन-गायन गर्ने अवसर पायौं । बिहानैको गाडीमा नौतुना फर्किने विचार थियो । तर, कुंडाघाटका जनताहरु मानेनन् । १२ अगस्टको दिन दुई बजे देखि साढे चार बजेसम्म स्कुल भवनमा अनि साँझ सात बजेदेखि नौ बजेसम्म हेडक्लर्क जमादर साहेबको घरमा सतसगं प्रचारको कार्यक्रम साज-संगीतको साथमा सम्पन्न गरियो । १३ अगस्त (आइतबार) मा पनि यस्तै प्रकारको प्रोग्राम दिनभरि चली नै रह्यो । मेरो भने आंगको लुगा पसिनाले डुङ्डुङ्ती गन्हाउन थाल्यो । कुंडाघाटका गोर्खाली जनताले पचास रुपिया सतसंग प्रचारिणी सभालाई दान गरे । १४ अगस्तको बिहानै रेलगाडीमा बसी डेढ् बजे दिउँसो नौतुना फिर्ता पुग्यौ । अति बिसंचो हुनाले दुई दिन आराम गरी १६ अगस्त देखि फेरी सतसंग प्रचार कार्यक्रम नियमित पाराले सुरु भयो । हर आइतबार अनि बिहिबारमा बिहान ८ बजेदेखि १० बजेसम्म सतसंग (ढोगभेट) प्रोग्राम हुन्थ्यो, बाँकी दिनको प्रचार कार्यक्रम बेलुकी पाँच बजे देखि सात साढे सात बजेसम्म हुन्थ्यो ।

अब नौतुनाको अलिकति परिचय दिन जरुरी सम्झन्छु । विशेषगरी पश्चिम खण्डको गोर्खाली लाहुरे अनि पेन्शनेहरूको पहाड आउने जाने ठूलो गौंडा नौतुना हो । हामीले यसलाई “नौतुना” भन्छौ; यो अंग्रेजी राज्य भित्र एउटा सानो सहरको रुपमा छ । त्यहाँ रेलको आखिरी स्टेशन छ । नौतुनाबाट झन्डै नौ कोस टाढामा बटौली भन्ने एउटा नगर पहाडको घ्याँचमा तिन्हुँ खोलाको छेउमा बसेको छ । त्यहाँबाट अंग्रेजी राज्य सकिएर नेपाल राज्य सुरु हुन्छ । हुन त नौतुना अंग्रेजी राज्यमा छ तर अंग्रेजीले जस्तो अरु ठाउँमा बन्दोबस्त मिलाएर राखेको छ, त्यस्तो बन्दोबस्त नौतुनामा मिलाएको झै बुझिएन । यहाँ लाख रुपियाँको व्यापार हुन्छ । धनी धनी मारवाडी सेठहरु यहाँ व्यापार गर्दछन्, नगर पनि ठुलै छ, तर कोही अड्डा अदालत अथवा थाना पुलिस यहाँ छैन । सिर्फ दुई तीन जना पुलिसे सिपाही बस्दछन् । यो नौतुना शासक नभएको प्रदेश जस्तो छ । जसलाई जे मन पर्‍यो उही गर्दैछन् । केही दरभाउ निश्चित छैन । एक रूपैयाँको माल छ सात रुपैयाँको दरमा लाटोसुधो लाहुरेहरुलाई बिक्री गरेका छन् । दोकानदार (पसलेहरु) यति अहंकारी ठुला भएका छन् कि सितिमिति बाहिरका मानिसहरुसँग कुराकानी पनि गर्न मन पराउँदैनन् । लाहुरेहरुलाई मात्र आउनुहोस्, बस्नुहोस् भनी फस्ल्यांग-फुस्लुंग पारि अनीतिको कमाईले आफ्नो ढुकुटी भर्दैछन्: कसैको डर रत्तीभर छैन । यहाँ न सरकारको डर न परमात्माको भय । यस्ता आफूपन्थे नास्तिक, सुन-चाँदीका पुजारीहरू मात्र नौतुनामा देखियो ।

अन्दाजी एक सय गोरखालीहरु होटल खोली भट्टी थापी बसेका छन् । यिनीहरुले देशतर्फ जाने अनि छुट्टी पेन्शनमा पहाडतिर फर्कने गोरखालीहरुलाई भातरोटी पकाएर ख्वाउँछन् । परदेशीलाई भात पकाएर ख्वाउनु अनि मुनासिब दाम लिनु असल कुरा हो; धर्मको धर्म हुने अनि धनको धन पाइहाल्ने । तर यहाँ अर्कै जंगली चाल देखियो । हरेक भट्टीमा डम्फु-मादल साथै तरुनी आइमाईहरूको चडक-भडक छ । उनैका हातबाट रक्सी ख्वाई लाहुरेहरुलाई जोशमा ल्याउँछन्, अनेक प्रकारको छाँट झिकी मखौल ठट्टा गर्दै गीतमा ताना बाना मार्दै मनलाई विषय वासना तिर तान्छन् र एकै रातमा एक लाहुरेबाट काफी ज्यादा रुपिया फुत्काउँछन् । प्रत्येक भट्टीमा दस पन्द्रह लाहुरेहरु त कम से कम बसेकै भेट्छौं । यश हिसाबले एक मामुली भन्दा मामुली भट्टीवालाले एक रातमा कम्ति भनेको तीन सयजति रुपैयाँ लाहुरेहरुबाट खसाल्छन् । ओहो कस्तो अनीति, कस्तो अधर्म सय ठाउँमा चलेको छ ।

२४ अगस्त १९४४ को राति साह्रै गर्मी हुनाले म राम्ररी निदाउन पाइन; अढाई बजे रातदेखिन हरेक होटलवालाले आफ्-आफ्ना झोलामा पाँच छ बोतल हाली हातमा टर्च बत्ती वा लाल्टिन लिएर गल्यांग गुलुंग कुरा गर्दै बिहानसम्म रक्सी ओसारेको नजारा मैले कहिले पनि भुल्ने छैन । रात भरी भट्टी भट्टीमा मादल बज्दै थियो । बिहान पख मोटरभित्र लाहुरेहरु अटाई-नअटाई अनि छानामाथि पन्ध्र-बिस जना बसेका थिए । माल बोक्ने लारीले पनि लाहुरेहरुलाई धमाधम ओसार्दै थियो । विश्वयुद्धको बेला आजभोलि लाहुरेहरूको ओहोर-दोहोर खुबै तेज भएको छ । रोजै इस्पेशल गाडीले पाँच सात सय गोरखाली जवानलाई गोरखपुर पुर्‍याउने अनि त्यहाँबाट ठाउँ-ठाउँ पल्टनहरुमा लैजाने गर्दैछ । लाउरेहरुका पासमा रुपिया पैसाको कमी छैन । हजार-बारह सय त जाबो एउटा मामुली सिपाहीले छुट्टीमा जाँदा बोकेकै हुन्छ । कति तरुनीहरु त मोटर अड्डासम्म लाहुरेहरुका पछिपछि गई, कसैको लाज नमानी लाहुरेहरुसँग हात हाली चल्दछन् अनि पाँच दस फुत्काएर ल्याउँछन् । कति आईमाईले राति बिचेत भएका लाहुरेहरुका जम्मै रुपियाँ झिकेर लुकाई दिन्छन् र ती बरा घरमा पनि नगई त्याहाँबाट छाउनीतिर रित्तै फर्कन्छन् । बटौलीतिर त कति लाहुरेहरुलाई भट्टीवालाले लुटपिट गरि प्राण समेत हारेर राती जंगलमा फालेर आउँछन् भन्छन् । यस विषयमा कुनै नौतुना निवासी भलाद्मीसँग कुरा गर्‍यो भने यस्ता-यस्ता डरलाग्दा कुराहरू सुनाउँछिन् कि यो आंग त्यसै जिरिंग भएर आउँछ । हामी सर्वत्र नाम पाएका बहादुर र इमान्दार गोर्खाली हौ भन्ने कुरा त यहाँ छँदै छैन । जातिको गौरव भन्ने के हो कसैले बुझेको छैन । कति जन तरुनीहरु मदेसेसँग अँगालो मारी बजार बजार डुल्छन् । कतिजना गोरखालीहरुले यहाँ आईमाई बेच्ने काम पनि गर्दछन् भनी थाहा भयो ।

पहाड घर तर्फ गई, रुपिया पैसाको लोभ र झिलिमिली लुगा-लत्ता देखाई लाटीसुधी केटीहरुलाई फस्ल्यांग-फुस्लुंग पारी साथमा लिएर आउँछन् अनि टाढाटाढा मधेसमा लगेर बेचि दिन्छन् । उहिले उहिले म पञ्जाबका जम्मै शहर गाउँमा धर्मप्रचार निमित्त डुल्ने गर्थें । प्रत्येक सानो भन्दा सानो नगर अनि गाउँमा पनि दुई चारजना गोरखाली आईमाई पन्जाबिनी भएर बसेकी मैले आफ्नै आँखाले देखें । मनैमनमा साह्रै दुखित भएर विचार गर्थें कि यतिका धेरै गोरखाली आईमाईहरु कसरी यति टाढा यहाँ छापिनु आइ पुगे ? आज नौतुनाको हालचाल देख्दा अनि सुन्दा नबुझेका कुराहरु बल्ल बुझें । नौतुना मात्र होइन यस प्रकार घिनलाग्दो व्यापारका अड्डा रक्सौल वीरगन्ज इत्यादि ठाउँहरुमा पनि रहेछन् भनि मैले चाल पाएको छु । नेपाल सरकारले कुनै तरुनी आईमाईलाई बिना जाँचको मदेशतर्फ जान नदिनु भन्ने कडा हुकुम जारी गरेको छ । सबै अड्डा चौकीहरुमा रोकथाम हुन्छ । तर पनि यी आईमाईहरुलाई कसरी कुन बाटो निस्काएर लैजान्छन् ? ती जातफाली दुःख पाएकी आइमाईहरुसँग मैले त्याहाँ (पंजावमा) भेटेर कुरा गर्ने धेरै पटक कोशिश गरें तर ती आइमाईहरुलाई जसै थाहा हुन्थ्यो कि यो गोरखाली हो, एकदम लुकी जान्थे, सामने पर्दैनथे । म दंग पर्थे, म त झन् आफ्नै दिदी-बहिनी भनेर मायाले कुरा गर्न खोज्थे तर उनीहरु मलाई देखी भाग्ने किन ? धेरै वर्षपछि आज त्यसको अर्थ पनि बुझ्न सके । तिनीहरूको श्रद्धा-विश्वास-माया-प्रेम गोरखाली प्रति रितिई सकेको थियो । तिनीहरूको हृदयले गोरखालीलाई शायद यसरी धिकारी रहन्थ्यो होला “हे निच पापी स्वास्नी बेचुवा गोरखाली जाति, हामी गरीब अबलालाई धोकामा पारी हाम्रो जीवनलाई सधैँका लागि नाश पारिदियौ- अब कौन मुखले हामीसँग कुरा गर्न आएको ? जाउ, हामी दुःखी छौ वा सुखी, हाम्रो सोधपुछ गर्नु पर्दैन । हाम्रो घर, इष्टमित्र, दिदीबहिनी, आमा-बाबुसँग सधैँका लागि छुट्याई विदेशमा थुनुवा बनाउने नीच गोरखाली हो, जाउ हामी तिमीहरुको मुख हेर्दैनौं ।“

नौतुनामा गोरखालीको यस्तो नजाती अवस्था देखेर जाति हितैषी कप्तान साहेब बहादुरसिंह बरालको मनमा साह्रै दुख लाग्यो र उहाँले केही समय अघिदेखि नै यहाँ सतसंग (ढोग) को साप्ताहिक कार्यक्रम द्वारा समाज सुधारको काम थाल्नु भएको रहेछ । त्यस सतसंगको प्रभावले गर्दा रुपैयाँमा एक या दुई आना सुधार अवश्य भएको होला जस्तो लाग्छ । जहिलेसम्म कप्तान साहेबले नौतुनामा रेकरुटिङ अफिसरको काम गर्दै रहनु भयो उहिलेसम्म नौतुनामा काफी राम्रो सुधार हुँदै गयो । कप्तान साहेब यहाँबाट बदली भएर कुँडाघाट (गोरखपुर) जानु भए उप्रान्त आज भोलि सुबेदार साहब गिरधारी विष्टले कप्तान साहेबको पद-भार सम्हाल्नु भएको छ । विष्ट साहेबले पनि सतसंगको कार्यक्रमलाई झन् राम्रो ढंगले चलाई राख्नु भएको छ । यसै सतसंग प्रथालाई अझ बलियो बनाउन ससंगीत धर्मप्रचारको उद्देश्यले गोरखा सतसंग प्रचारिणी सभा धर्मशाला (भाग्सू) ले मलाई नौतुना खटाई पठाएको हो ।

सतसंग-भजनको नियमित कार्यक्रम बाहेक मैले याँहा कथा पुराण-गायन गरेर सुनाउँदै अनेक प्रकारको धर्म उपदेश दृष्टान्त दिएर जनतालाई असल बाटोतिर हिँडाल्ने कोशिश गर्दैछु । तर संसारको एक छेउंबाट अर्को छेउंसम्म, पूर्व-पश्चिम उत्तर-दक्खिन कतै गएर हेरे पनि यस वर्तमान कालमा लोभ नभएको मानिस कहाँ-कता पाइएला ? सबैको मनमा एकैनासे लगन छ कि कुन सजिलो भन्दा सजिलो ढंगले म धेरै भन्दा धेरै धन जम्मा पार्न सकूँ । अनपढ् र दुष्ट भएतापनि यदि उसैको संगमा धेरै धन छ भने उसले संसारमा मान-प्रतिष्ठा पाएकै छ । समाज सुधारक विद्वानहरूले पनि यस्तै उपदेश ठाउँठाउँमा दिन्दै हिँड्छन् । सांचै भनुं भने उन्नतिको मूल जरो धनै रहेछ । धनले गर्दा युरोप र अमेरिकाका सम्पन्न जातिहरुले संसारमा कस्ताकस्ता काम गरी देखाए अनि देखाउँदै छन् । धार्मिक गुरुहरूको पनि आजको समयमा यस्तै भनाइ छ, धन भएमा दान-पुन्य-तीर्थ-व्रत इत्यादि हुन सक्छ, परमात्मा प्राप्तिको लागि पनि धनैको खांचो छ । समस्त भूमण्डलमा पैसा खूबै कमाउने हो भन्ने प्रचार बढेको छ भने नौतुना निवासीले केही अर्घेलो काम गरेको त म देख्दैन । आफ्आफ्ना योग्यता अनुसार यिनीहरुले पनि संसारको देखादेखीमा धन कमाउँदै छन् । रक्सी बेची कमायेको धन भनौं भने रक्सी नबेच्ने जाति आज संसारमा को छ होला ? मैले पश्चिम एसिया र यूरोपका साना ठूला धेरै शहरहरु घुमी राम्ररी देखेको छु । ती धनी देशहरुमा रक्सीको पसल गन्ती नगरी सक्नु छ । जता जाउ रक्सीकै पसल मात्रै छ, प्रत्येक पसलमा रक्सी बिक्री गर्ने तरुनी आइमाईहरु छन् । जस्तो हाम्रो नौतुनामा मादल डम्फु बजाएर गीत गाउँछन्, उस्तै प्रकार उहां पनि प्यानो-वायलिन साज बजाएर तरुनी तन्देरीहरु सँगसँगै मिलेर नाच-गान अनि खेल-ठट्टा-हाँसो गर्छन् । नौतुनामा केही अनौठो कुरा मैले देखिन यदि धन कमाउँदामा केहि पाप हुने रहेछ भने त्यसको उपाय पनि त हाम्रो समाजमा छदैंछ, सालमा एकपटक श्री सत्यनारायण भगवानको पूजा गरेमा जम्मै पाप सजिलैसँगले पखालिन्छ ? जाउ मित्रसेन नौतुना गएर सतसंग प्रचार गर भनी मलाई यहाँ खटाई पठाएको कुरा सत्य हो, तर नौतुनाको हालको अवस्थालाई देख्दा कस्तो प्रकारले समाजसुधारको कुरा यहाँको जनताको सामुने राखुँ ? रक्सीको खन्डन-मन्डन गर्ने कि नगर्ने ? लाहुरेहरुलाई लूटपीट नगर भन्ने कि चुपचाप लागि बस्ने ? मैले सुनाउँदै गरेको उपदेशको प्रभाव याँहा असल पर्दैछ वा उल्टो ? मनमा अनेक प्रकारको चिन्ता-शंका चली बस्छ । सबैमा धन जम्मा पार्ने इच्छा प्रबल छ- किनभने धनैमा शक्ति छ । हरेक मानिसले राम्रो लाउँ, रेल-मोटरमा सफर गरुँ, ठुलो घर बनाउँ, जमिन जग्गा बढाउँ, सन्तानलाई खुवै पढाउँ, सभा समाजमा मान-इज्जत पाउँ भन्ने चाहना गर्छ । यो प्रत्येक कुरा पूरा हुन सक्छ मात्र पैसाको शक्तिले । पैसा उपार्जनको निम्ति कसैले नोकरी-चाकरी गर्दैछन्, कोही जमिन-जग्गा कमाउँछन्, कति सौदा-व्यापार पट्टी लागेका छन्, कोही चोरी डाँका गरेर अथवा धर्मकर्मका आडमा जीवन निर्वाह गर्नेछन् भने नौतुनावासीले आफ्नो धन उपार्जनको यस्तो सजिलो बाटो किन छोड्ने ? यो सतसंग (समाज सुधार) कार्यक्रमले के कति प्रभाव यहाँ पार्न सक्यो अथवा पार्नसक्छ अन्दाजा लगाउन अलिक गाह्रो छ । तर हामी गोरखाली हौं भन्ने आत्म-गौरव अब अलिअली यहाँ जागेको जस्तो मलाई लाग्छ ।

३१ अगस्त १९४४ (बिहीबार) मा नौतुनाको एक भागमा हाम्रो सतसंग प्रचार (जाति सुधार) कार्यक्रम समाप्त भयो । समाप्तिका दिन श्रद्धालु जनले सीदा लिएर आए । जम्मै सीदादी जम्मा पारेर अगिल्लो दिन हाम्रो डेरामा पुर्‍याई दिए । तीस-पैंतीस सेर चामल दुई छटांक मसला-बेसार नुन र एक छटांक जति घिउ । यस बाहेक सतसंग प्रचारिणी सभालाई ३५० रुपियाँ दान प्राप्त भयो । हवलदार सेतु आलेले चाँहि कुन्नि किन हो कति रोक्दा पनि सुरु दिन देखिन कहिले केही, कहिले केही सामान लिएर आउनु हुन्छ । मेरो आत्मा भित्रको आवाजले भन्छ- मित्र सीदा लिने काम तैंले निको गरिनस् । तर श्रद्धाले दिएको सीदा-पानीलाई निरादर गर्नु पनि त उचित ठहरिदैन । हामी चारजना परिवारमा छौं । बाहिरबाट हामीलाई कुनै प्रकारका आम्दानी छैन । दिनभरी जाति सुधारका कुराहरु कथा, कविता, निबंध, गीत, भजन आदि लेख्छु । साँझ प्रचार-कार्यमा लागि रहन्छु । शरीर अझ राम्रो तङ्ग्रिएको छैन । यहाँ सौदा पत्ता साह्रै महँगो छ । मामूली मोटो चामल एक रुपैयाँको एक सेर, घिउ रुपियाँको पाँच छटांक, तेल वार्ह छ्टांक, आँटो दुई सेर । गृहस्थमा सबै थोक चाहिने । लुगाफाटा पनि सफा राख्नु पर्‍यो । साग-तरकारी महँगो बेसाहमा मेरो परिवारिक खर्च कम्तीमा भनेको ५० रुपियाँ मासिक त अवश्य होला । मेरा मित्र कप्तान बरालज्यू अनि सुबेदार विष्टज्यूले मेरो र मेरो परिवारको लागि सकेसम्म मद्दत गरीनै रहेका छन् ।

जाति सेवाले तप र त्यागको माँग गर्छ, तर यस भित्र एक अजीब किसिमको आनन्द पनि छ । यसै आनन्दको लोभले गर्दा राधा फिल्म कम्पनीको डाइरेक्टरको प्रलोभन-जालबाट म बाँच्न सकें । डेढ सै रुपियाँ मासिक र बस्ने घर फ्रि दिन्छौं, कम्पनीमा काम गर भनि जोर हालेर भन्नु हुन्थ्यो । म चाहिं मानिन । पोहोर साल लाहोर सनातन धर्म प्रतिनिधि सभाका मंत्रीज्यूले, “सभामा आएर फेरि काम गर तपाईलाई अघि भन्दा बढ्ता तलब दिने छौं, आग्रह गर्नु भो तर मैले “हुँदैन” भनि उत्तर दिएँ । यस्तै प्रकार मेरा कति जना धनी-मानी देसी मित्रहरूले कति पटक मलाई भनि सके, “तपाई हाम्रोमा आएर बस्नुहोस्, जिमिन जग्गा, गाई भैंसी जम्मै गृहस्थका सरसरजाम मिलाई दिन्छौं, आनन्द साथमा जीवन निर्वाह गर्नुहोस् र समय-समयमा धर्म प्रचार गरेर उपकारको काम पनि गर्नुहोस् ।“ तर मैले त्यो सुझाउ पनि मानिन । मेरो लगन त आफ्नै जातितिर लागेको छ, कसरी म आफ्नो परिवारको सुख-आनन्दको मात्र विचार गरुँ ? पैसा कमाउने इच्छा भएको भए म किन यो धर्म प्रचार काम गरि हिड्ने थिए ? आज भोलि यस महायुद्धमा खेर गएको लाटा-लूरेलाँगरे पनि जमदार-सुबदार भएका छन्, के म जाबो हवलदार सम्म पनि हुन सक्तिन थिएँ ? मेरा इष्टमित्रले पनि भनि रहन्छन्, “मास्टरले छोरोलाई सपार्न सकेन । आफु धर्म प्रचारतिर लागे पनि छोरालाई त अंग्रेजी तालिम पढाएर कतै जागीरे बनाउन पर्ने थियो । नभए पल्टनमा भर्ती गराई दिनु पर्ने थियो । यति समझदार मानिस भएर किन भूल गर्दैछन् ?” चारैतिरबाट आवाज उठ्दै छ । मैले छोरालाई `जस्तो तेरो विचारमा आउँछ उस्तै गर´ भनि स्वतन्त्र छोडेको छु । तर उसले चाहिँ कसैको कुरा नसुनी, अनेक दुख अपमान सही, “म पनि जाति-सेवा नै गर्छु” भनि अग्रसर भएको छ । भविष्यमा कहाँसम्म उ अड्न सक्छ । यस कुराको अड्कल गर्न गाह्रो छ किनभने यो धर्म-प्रचारको बाटो साह्रै अप्ठ्यारो छ । यसमा अनेक प्रकारका कष्ट छन् । छोराको अहिले बुद्धि छिप्पिएको छैन, १९ वर्षको उमेर छ । अहिलेसम्म त उ आफ्नो योग्यता अनुसार काम गर्दै छ । यदि राम्रो संगत रह्यो र जातिले उसको उत्साहलाई बढाउदै गर्‍यो भने भविष्यमा राम्रै काम गर्ला ।

मैले जीवनभरि यात्रा नै गरें, ठाउँठाउँमा धर्मप्रचार गरी हिडें, तर यस्तो यात्रा-पुस्तक लेख्ने प्रयास अघि गरिन । १३ जुलाई १९४४ मा जुनदिन गोरखा सतसंग प्रचारिणी सभाको स्थापना भाग्सूमा भयो, श्रीमान माननीय मास्टर नत्थूराम बी.ए.बी.टी. बाट मर्जी भयो कि “तपाईले एउटा डायरी लेख्नु पर्छ । ठाउँठाउँ गएर के के हुन्छ ? के के काम गर्नु हुन्छ ? सबै कुराहरुको नोट गर्नु होला ।” उहाँको आदेश अनुसार यो डायरी यस ढंगले लेख्दैछु । यो लेख्दा मनमा विचार उठ्छ कि पुरानो जीवन यात्रा वृतान्त पनि लेखूं । सो भगवानको इच्छा ।

१-९-४४ को बेलुकी विष्ट साहेबले मलाई २० रुपियाँ दिएर भन्नु भयो कि यो कप्तान साहेबले तपाईहरुको खर्चको लागि पठाई दिनु भएको छ । ४-९-४४ देखि नौतुनाको अर्को भाग कप्तान टोलमा सतसंग प्रचार कार्य शुरु भयो । सतसंगको कार्यक्रम बाहेक मैले याँहा सुदामा भक्तको चरित्र भजन गाएर सुनायें । दस दिन सम्मको यो संगीत-कथा सकिएपछि यहाँ पनि श्रद्धालु जनले सीदा-पानी दिए अनि सत्संग प्रचारिणी सभालाई ३२ रु. ८ आ. दान प्राप्त भयो । १४-९-४४ मा थाहा लाग्यो कि बराल साहेब ज्यादै बिसंचो हुनाले लखनौको ठूलो मिलिट्री अस्पतालमा दाखिल हुनुभएको छ । सो समाचारले हामी सबैलाई दुःखी गरायो ।

१९-९-४४ देखि नौतुनाको दसाईघरमा दुर्गा चरित्र सुनाउनु भनि विष्ट साहेबले अनुरोध गर्नु भयो । पाँच दिनसम्म दुर्गा चरित्र गायन गरी २३-९-४४ मा यो कार्यक्रम समाप्त गरियो । कप्तान साहेब बरालसँग सल्लाह-विचार गरी मैले लेखेका भजन-कथा-गीत-उपदेशादि पुस्तकरूपमा गोरखपुरको कुनै प्रेसमा छापेर सतसंग सभा हुँदा बिक्री गर्दै जाउंला भनि विचार गरेको थिएँ तर वाँहाको लामो बिमारीले गर्दा मेरो योजना बिग्रदै गएको जस्तो लाग्छ । धर्मशालादेखि नौतुनासम्म आएको बाटो खर्च एक सय अड्तीस रुपियाँ छ । पैसा सतसंग प्रचारिणी सभा भाग्सू (धर्मशाला) बाट अझ आइ पुगेन । मेरो पासमा भए भरीको पैसा जम्मै सिद्धि सक्यो । बुढी आमालाई तिर्थ घुमाउन भनि ल्याएको रुपियाँ अब अलि अलि गरी खर्च गर्नु पर्दैछ ।

भगवान बुद्धको जन्मस्थान लुम्बिनी नौतुनाको नजिकैमा पवित्र तिर्थ-स्थान छ । झन्डै-झन्डै दुई-अढाई कोस टाढा छ । तर आजभोलि बाटो खराब छ, ठाउँठाउँमा पानी छ भन्ने थाहा भयो र दर्शन निमित्त केही दिनपछि जाने निश्चय गर्‍यौं । जन्मभूमि भाग्सूदेखि टाढा नौतुनासम्म आएर मुख सामनेको गोरखा-पहाड पखेरालाई देखाउन पनि जरुरी थियो । सो विष्ट साहेबको अनुमतिले पहाडतर्फ रिढीसम्म गई गंगा स्नान गरी नौतुना फर्की आउने चाजो मिलायौं । दसैं टीकाको अगिल्लो दिन २९-९-४४ (बिहीबार) तदनुसार १३ असोज २००१ सम्वतमा हिड्ने पक्का ठहरियो । सिरिफ बाटोमा चाहिने बिस्तारा, लुगा, पकाई खाने भाँडा, राशन इत्यादि अलिअलि गर्दा पनि एउटा भरियाको भारी भई हाल्यो । यदि भरिया पाइएन भने यो भारी हामीले आफै बोकेर हिडौंला भनि निर्णय गरियो । १३ असोजका दिन मोटरमा बसेर बटौली तिर लाग्यौं । नौतुनाबाट हिँड्दा मेरो गोजीमा जम्मा पच्चीस रुपियाँ थियो । पाँच रुपियाँ मोटर भाडा तिर्नु पर्‍यो । दस रुपियाँको मोहोर साटें । सो फर्किदालाई दस रुपियाँ मात्र रह्यो । आफैले भारी बोकेर हिँड्दा पनि रिढी यात्रा गरेर नौतुना फर्किनुसम्म मलाई पुग्छ वा पुग्दैन ! परमात्मामा भरोसा राखी हिँडे । ईश्वरले आमालाई बल प्रदान गर्नु भो । विस्तार विस्तार ठाउँठाउँमा बिसाउँदै बत्ती बाल्ने बेलामा नुवाकोटको चौकीमा पुग्यौं । थाकेर हलाक भएको प्राण मात्र बाँकी थियो । चौकीको हवल्दारलाई भनि चौकीमानै बास बस्ने इरादा थियो । तर चौकीमा कोही पनि थिएन । त्यहाँ एउटी नेवारनीको पसल रहेछ, सोध-पूछ गर्दा चौकीको हवलदार त टीका लाउन भनि हिजो गाउँमा गएका हुन- थाहा भयो । सरकारी बन्दूक हात-हतियार छोडेर, आफ्नो डिउटीको परवाह नमानी जाने त्यो हवलदार कस्ता रहेछन् छक्क लाग्यो ।

चौकीमा रात काट्ने आस पनि टुट्यो-उता तिनी नेवारनी बहिनीले पनि बास दिनु मानिनन् । रात पर्नु लाग्यो । आमाले रातीमा आँखा न देख्ने । बेबस भएर झेरदी तिर ओर्हालो झर्नु पर्‍यो । झेरदीको पहिलो भट्टीमा बास माग्यौं- तर पाइएन । मन साह्रै दुख्यो । किन भट्टीवालाहरुले हामीलाई बास दिन मन गर्दैनन् ? यी लाहुरेहरुलाई मात्र खोज्दछन् ? कारण स्पष्टै छ- जसको पासमा पैसा छ, उसको कदर संसारमा हुन्छ- हामी चामल बोकी हिड्नेहरुबाट भट्टीवालाहरुलाई केको आम्दानी हुने ? लाहुरेहरुले रक्सी खान्छन्, कुखुरा काट्न लाउछन् । तिनीहरू बास बसे १५ वा २० रुपियाँ झर्ने भयो । हामीलाई बास दियो भने चार मानिसको बीचमा धेरै भन्दा धेरै एक सुका पैसा पाउने भयो । सर्वशक्तिमान, सबै रोगव्याधि हटाउन सक्ने, जम्मै पापको नाश गराई स्वर्ग पुर्‍याउन सक्ने, मनको जम्मै इच्छा पूर्ण गर्न सक्ने साक्षात पैसा रुपी भगवानलाई प्राप्त गर्न छाडी, धर्म-कर्मको पछि किन पो लाग्थ्यो ? संसारमा म झैं मूर्ख कुन होला ? पैसाको चमत्कार देख्दा मेरो पनि पैसा तिर मन तानिन्छ । तर मनको भित्री कुनाबाट कसैले मलाई सावधान हो, भन्छ, रोक्छ । रात परि हाल्यो । आमा आत्तिन लागिन । एउटा भट्टीमा भारी चाकरी गरेर बल्लबल्ल बास पायौं तर यो शर्तमा कि यदि लाहुरेहरु आएछन् भने पटाहमा बास बस्नु पर्ला । नभन्दै केही छिनपछि लाहुरेहरु आए अनि मुनि अर्को भट्टीमा बास बसे । यो देखेर हाम्री भट्टीवालनी रिसले भुतुक्क भईन । यिनीहरूलाई देखेर यी लाहुरेहरु याँह बसेनन्, मलाई नोक्सान पार्‍यो- इत्यादि अनेक कुराहरु हामी ननिँदाउन्जेलसम्म गन्गनाउँदै रहिन् ।

यसरी रात काटी १४ असोज (३० सितम्बर ४४) को बिहान त्यसै भट्टीमा भात खाएर आआफ्नो गुन्टा बोकी दीवान-खोला तर्फ ओह्रालो लाग्यौं । आमाको यौटा घुंडा ज्यादै कमजोर हुनाले ओह्रालो झर्दा तकलीफ हुन्थ्यो । विस्तार विस्तार हिँडी तीन घन्टामा बल्लबल्ल दोबान खोलामा पुग्यौं । हिँड्दै बस्दै गर्दा बल्लबल्ल साँझ झिम्झिम हुनेबेलामा मनयाक भन्ने ठाउमा पुग्यौं । त्याँहा एउटी नेवारनी बुढी माऊको घरमा बास बस्यौं । यहाँ कुनै प्रकारको कष्ट हामीलाई भएन । राम्रो सत्कार भयो । १५ असोजको बिहान भात-भान्सा गरेर सुसतोबिस्तो सिस्नेखोलातिर लाग्यौं । डुमरे र नयाँपाटीको बीचमा पुग्दा सूर्य अस्तायो । नयाँपाटीसम्म पुग्दा झमक्क राती भई हाल्ने छ । आमाले आँखा देख्न छाडिन् भने डोर्‍याउनु पर्नेछ- बरु यस्तै बेलामा बास बस्न पाए हुने थियो, विचार गरेर नयाँपाटीको ओरै खोलाको छेउमा एक भट्टीमा बास माँग्दा बास दिएनन् । विवस भयी नयाँपाटी तर्फ बढ्दै गयौं । बाटोबाटै दाउरा पनि खोज्दै गयौं । नयाँपाटी पुग्दासम्म राती भई हाल्यो । एउटा थकाल्नी बहिनीले हामीलाई बास दिईन्- राम्रो आदर सत्कार गरिन् ।

१६ असौज (१ अक्टोवर ४४) को बिहान त्यसै भट्टीमा भात, भान्सा गरी, बाटोमा मैलिएका लुगाहरु फुकाली सफा लुगा फेर्‍यौं । भाडा-बिस्तरा पनि बाँधेर त्यहीं छाड्यौं । तानसिङ नयाँपाटीबाट एक कोस छ । मेरो मित्र मेजर भूपेन्द्रविक्रम तनासिङको जंगी अड्डामा हुन हुन्छ । उनकै आस्रयमा गुन्टा त्यहीं भट्टीमा…..

नोट :- श्री पूज्य पिताजी यहाँसम्म लेख्दै हुनुहुन्थ्यो, वहाँ अचानक बिसन्चो हुनु भयो, लेख्दालेख्दै चट्ट छोड्नु भयो- छाडेको छाडै पार्नु भो- अन्त १-१०-४४ देखिन् उहांको मृत्युकाल (९-४-४६) सम्मको यात्रा-डायरी छोटकरीमा लेख्दै छु । 

दिग्विजय सेनप्रदेशी” 

त्यहीँ भट्टीमा गुन्टा राखी हामीहरु नयाँपाटीको फाँटको बाटो, त्यहाँको हरियो सुन्दर दृश्यलाई हेर्दै तानसिङको उकालो चढ्यौं । तकरीबन चार बजे साँझ बाबुसाहेब मेजर भुपेन्द्र विक्रमज्यूका भवनमा पुग्यौं । श्री भुपेन्द्र समेत उहाँको जहानपरिवारले हाम्रो स्वागत गरे । वहाँले हाम्रो गाँस-बासको असल व्यवस्था मिलाई दिनु भयो । चार दिन जति आराम गर्नाले बाबालाई निकै स्वास्थ्य लाभ पुग्यो । ५ अक्तोबर ४४ मा बिहानै ६ बजे हामीहरु रीढी जान भनी तयार भयौं । बतासेडांडा, चुतरा भन्ज्यांग, कुरुंग खोलाको बाटो हुँदै तीन बजे अर्घेली पुग्यौं । अर्घेलीबाट ओर्हालो झरी साढे पाँच बजे तिर रिढीको प्रसिद्ध देव-मन्दिर ऋषीश्वरको धर्मशालामा पुग्यौं । रिढीको चारैतर्फ पहाड हुनाले यहाँ छिटै रात पर्छ । हामी पुग्दा साँझ परी सकेको थियो । त्यहीँ धर्मशालाको एक कुनामा डेरा जमायौं । धर्मशाला ह्वाङ्ह्वाङ्गतै थियो-ढोका झ्याल नभएको । पास पसलबाट एकुन्टा गिलास चिया खाएर दिन भरी हिडेको थकान मेट्यौं । केही पछि तानसिङबाट नै पकाएर ल्याएको खाना-साना खाएर ओछ्यान गरी त्यही भुइँमा लड्यौं । कृष्णगण्डकीको सामुन्नेमा खल्लबल्ल गर्दै बगी रहेको मधुर आवाज तर मुटुसम्म छेड्ने चिसो बतास दुवैको आस्वादन गरी रात काट्यौं । बिहान पख घामले अलि न्यानो गराएपछि गन्डकी नुहाउनु भनि गंगा छेउमा गयौं । स्नान आदि गरी फर्किदा बाटोमा एक जना मानिसले बाबालाई चिनेछन् । एकछिनमा सारा रिढीमा- लौ मास्टर मित्रसेन परिवार समेत यहाँ आउनु भएको छ भन्ने खबर फैलियो । धर्मशालामा पुगी हामीहरु चिया खादैँ थियौं, त्यतिकैमा रिढीका प्रसिद्ध मानिस दुर्गा साह र त्यहाँका जनता स्वागत निम्ति हामी नेर आई पुगे । गन्डकी नुहाएर आझै तानसिङ फर्किने विचार थियो । तर रिढीका जनताको आग्रहले एक महिनासम्म त्यहाँ बस्नु पर्‍यो । कात्तिक एकादशीमा रिढीमा ठूलो जात्रा निस्किन्छ, त्यति बेला ऋषीश्वर तीर्थ महात्म्य् विषयमा एउटा नाटक तयार पारीदिनु होस् भनि सबैले बाबासंग अनुरोध गरे । बाबाले केही पौराणिक तथ्यको आधारमा एउटा नाटक लेख्नुभयो । रिहरसल शुरु भयो । नाटकको मुख्य रोल बाबाले आफै अदा गर्नुभयो । नाटकको पहिला शो रिढी बजारमा अनि दोस्रो शो ऋषीश्वर मन्दिरमा एकदमै राम्रो प्रकारले सम्पन्न भयो । जनताको फरमाइशलाई पुरा गर्नुका निम्ति अगिल्लो रोज पनि धुमधामसँगले ऋषीश्वर मन्दिरमा एक शो अझ भयो । नाटकको कार्यक्रम सकेपछि रिढीका जनतासँग बिदा माग्यौं- यसरी एक महिनापछि तानसिङ फर्कियौं । तानसिङमा एक हप्ताजति बसी नौतुना फर्की आयौं । बाबु साहेब मेजर भुपेन्द्र विक्रमज्यूले हाम्रो सुबिस्ताका लागि दुई जना भरियाहरुको व्यवस्था मिलाई दिनु भयो ।

दिसम्बर ४४ को पहिलो सप्ताहमा नौतुना फर्की आएपछि तीन चार दिन आराम गरेर बस्यौं । त्यसपछि नौतुनाको रेकरुटिंग अफिसरको सामुन्ने फेरि सतसंग प्रचार कार्यक्रम साथसाथै बाबाले भक्त अम्बरीषको कथा गायन रुपमा सुन्दर प्रकारले जनतालाई सुनाउन शुरु गर्नु भयो । बीच बीचमा उहाँले नैतिक र समाजिक विषयमा पनि व्याख्यान दिनु हुन्थ्यो । कहिले झ्याउरे लयमा हँसाउने खालका गीत गाएर घत लाग्ने कुराहरु सम्झाउने यत्न गर्नु हुन्थ्यो । यो कार्यक्रम गर्दागर्दै सन् ४४ बित्यो अनि ४५ लाग्यो । नयाँ सालको शुरु मासमा अल इण्डिया ब्रोडकास्टिंग रेडियो स्टेसन, दिल्लीबाट रेकर्डिंङका लागि बाबालाई बोलाई पठाए । “आमा र बजैको ख्याल राख्नु अनि सतसंगको कार्यक्रमलाई नियमित रुपले चलाउँदै रहनु” बाबाले मलाई आदेश दिनु भो । बाबाको सेवा, सहायता र सुविस्ताको लागि बाबु जसबहादुरज्यूले आफ्नो छोरालाई साथमा पठाउनु भयो । दिल्ली र लाहोरमा गई रेकर्डिंङ आदिको काम सिद्धिएपछि बाबा तीन सप्ताहबाद नौतुना फर्की आउनु भयो अनि सतसंग प्रचार आदिको जिम्मेदारी उहाँले आफैं सम्हाल्नु भयो । सन् १९४५ अगस्त मासको आधासम्म नौतुना अनि कुँडाघाट (गोरखपुर) मा कथा- संगीत, व्याख्यान-भजन, सतसंग कार्यक्रम सुचारू रूपले चलिनै रहेको थियो । बाबाले फुर्सद पाएमा निबन्ध-कविता, नाटक-गीत आदि पनि धमाधम लेखी बस्नु हुन्थ्यो । आमाजी सख्त बिमार हुनु भयो । गोरखपुरको नामी डाक्टरसँग जाँच गराउँदा उहाँले आमालाई दुई-चार महिनाका लागि हावापानी बदली गर्नु निमित्त पहाडतिर लिई जाउ भनी सल्लाह दिए । बजैले भाग्सू फिर्ता हुन्छु भन्नु भो । कप्तान साहेब बरालज्यू अनि सुबेदार साहेब बिष्टज्यूका सरसल्लाहले बजैलाई भाग्सू फिर्ता पठाउने बन्दोबस्त गरियो अनि हामी तीन जना (बाबा, आमा, र म) शिलांग जाने आँट भयो । भारतमा स्थित जम्मै गोरखाली पल्टनहरुमा बाबाको उहिले देखि नै राम्रो चिनजानी र आना-जाना थियो । त्यसकारण शिलांगका सबै गोरखालीहरुले बाबालाई राम्ररी चिन्दथे ।

१९ अगस्त ४५ को साँझ हामीहरु रेलमा बसी गोरखपुरदेखि शिलांगतर्फ हिँड्यौं । २२ अगस्तमा गोहाटी पुग्यौं, तर हाम्रो सामान असबाब ढीलो पुगीदिएकोले २५ अगस्तको साँझ मात्र हामीहरु मोटरद्वारा हिंड्यौं । बिहान भात खाएर मौप्रेम गाउँमा गयौं । श्री देवसिंह जोशी अनि श्री लोकनाथज्यूसँग हाम्रो भेटघाट भयो । उहाँहरुले हाम्रो बास-गाँसको असल व्यवस्था मिलाई दिनु भयो । आमाको इलाजपट्टी विशेष ध्यान दिएतापनि बाबाले आफ्नो सतसंग प्रचार कार्यक्रम हामी पुगेको तीन चार दिनपछि सुरु गरी हाल्नु भयो । पहिलो प्रोग्राम ठाकुर बाडीमा भयो, एक सप्ताह सम्म । त्यसपछि दुई सप्ताहको कार्यक्रम पाठशालामा राखियो । अब केही नाटक तयार पारी दिनुहोस् भनि त्यहाँका भला-आदमीहरुले बाबासँग अनुरोध गरे । प्रभु भक्ति नाटकको रिहर्सल बाबाको निर्देशनमा आरम्भ भयो । बाबाले आफै सीन- सीनरी (पर्दाहरु) चित्रकारी गरी बनाई तयार पार्नु भयो । सबै तयारी पूरा भइसकेपछि दुई दिनसम्म खुबै धूमधामसंगले यो नाटक त्यहाँ देखाइयो । बाबाले हारमोनियम बजाउनु भयो अनि मैले तबला ।

शिलांगको ओसिलो हावापानी र नियमिति इलाजले आमाको बिमारी काफी ठीक भयो । अतः ११ नवेम्वर १९४४ मा शिलांगदेखि तेजपुर, शीलघाटतर्फ जाउँ भनि गोहाटी आयौं । राती आठ बजेमा हाम्रो स्टीमर हिँड्न थाल्यो । रातभरी-दिनभरी त्यसमा सफर गरी १२ नभेम्वरको सांझमा तेजपुर पुग्यौं अनि राति एक बजेमा शीलघाट पुग्न सक्यौं । त्यहाँ उत्रियौं र बह्रमपुत्रको किनारा जंगलको बीचमा रात काट्यौं । तर मन्जिल अझ टाढा छ । बिहान पख एउटा डुंगामा बसी दिनभरीको सफर तय गरी राति आठ बजे हामीहरु आफ्नो मन्जिलमा पुग्न सफल भयौं । यो सफर अत्यन्तै कष्टदायक थियो । घोर जंगलभित्रको गाउँमा पुग्दा त्यहाँ बस्ने गोरखालीहरुले हाम्रो खूब आदर-सत्कार गरे । बाबाले सतसंग प्रचारको कुरा गर्दा “हामीहरु यहाँ बस्ने जम्मै गोरखाली राधास्वामी मतका अनुयायी छौं” भनि भने । अत: चार पाँच दिन बसी तेजपुर फर्की आयौं ।

तेजपुर पुग्दा बाबा अलि बिरामी हुनु भयो । तेजपुरमा दुई दिन बसी गोरखपुर फर्की आयौं । केही दिन आराम गरी दिसम्बर ४५ को पहिलो सप्ताहदेखि बाबाले सतसंग प्रचार कार्यलाई खुब जोश र उत्साहका साथमा फेरि थाल्नु भयो । निभ्न लागेको बत्ती जस्तै एक छिन झल्ल उज्यालो पारी विस्तार-विस्तारै प्रकाश मन्द हुँदै गयो । बाबाको शरीर दिनदिनै सुक्दै गयो । कप्तान साहेब बरालज्यू, सुबेदार साहेब बिष्टज्यू अनि नौतुना र गोरखपुरका जम्मै भला आदमीहरु चिन्तामा परे । बाबाको असल इलाजको लागि उनीहरुले केही कसर बाँकी राखेनन् । गोरखपुरको नामि डाक्टर जसवाल साहेबले बाबाको राम्ररी जाँच गरे । खुन टेस्ट, थूक टेस्ट, छातीको एक्सरे आदि सबैथोक गरे । तर रोगको पत्तै लाग्न सकेन । डाक्टर साहेब पनि छक्क परे । बाबाको हालत दिनप्रतिदिन झनझन खराब हुन्दै गयो । अन्तत साह्रै हताश भएर भारी मुटुले बाबाले सतसंगको कार्यक्रमलाई अब स्थगित गर्नु पर्‍यो भन्ने विचार प्रकट गर्नु भयो । कप्तान साहेब बरालज्यू अनि सुबेदार बिष्टज्यूले पनि अब तपाईहरु भाग्सू फर्किनु होस् भन्ने सल्लाह दिनुभयो । २१ मार्च १९४६ का दिन बाबा-आमा र म, नौतुना गोरखपुरको सतसंग-धर्म-प्रचार कार्यलाई बिचैमा छाडी, रेलद्वारा भाग्सू तर्फ हिँड्यौं ।

२४-३-४६ मा हामी घर (भाग्सू) फिर्ता पुग्यौं । बाबालाई ज्वरोले छाडेन । ज्वरो १०३ डिग्रीसम्म रोजै चढ्ने अनि बेलुकी उत्रने । पल्टनका सरकारी डक्टरलाई बोलाई-बोलाई इलाज गर्न लगायौं तर केही लाभ पुगेन । अन्तत ९ अप्रेल १९४६ बुधबार चैते दशैंताका राम-नवमीका दिन बाबाले यो नश्वर शरीरलाई त्याग गर्नु भयो । शरीर छाड्नु भन्दा केही छिन अघि मलाई भन्नु भयो “तँ अब टाठो-बाठो भइसकेको छस-आमा र बजैको ख्याल राख्नु अनि सतसंग-धर्म-प्रचार कार्यालाई जहाँसम्म हुन्छ चलाई नै राख्नु ।”

(विजय हितान द्वारा ‘मास्टर मित्रसेन र उनका सिर्जना’- पृष्ट ९३-१११ बाट जस्ताको त्यस्तै उदृत, सन २०२१)

सन्दर्भ सामग्रिः

थापा, मास्टर मित्रसेन, (सन् १९९४), मित्रसेनको डायरी, मास्टर मित्रसेन साहित्य सङ्गीत सभा, भाग्सु धर्मशाला

मगर प्रदिप थापा (सन २०००) मित्रसेन र उनको देन, काठमान्डौ, जिल्ला मेमोरियल फाउन्डेसन

मगर, त्रिलोकसिंह थापा (सन २०१३) मास्टर मित्रसेन एक परिचय, काठमान्डौ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान

मगर, त्रिलोकसिंह थापा र चन्द्रबहादुर श्रीस (सन २०१३) मास्टर मित्रसेन र उनका सृजना, काठमान्डौ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!