बिसीसी युकेले धार्मिक पूजापाठसहित ल्होछार मनायो |

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पूजापाठका साथ ल्होछार मनाएको छ । गत बिहिबार ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बिसीसी गुम्बामा दीप प्रज्ज्वलन, घ्यासी आयु र छोग पुजा गरी तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको हो । विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले गाई बर्गलाई बिदाई गर्दै बाघ बर्गलाई स्वागत गर्ने क्रममा उक्त कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो समय कोभिड–१९ को संक्रमण द्रुतगतिले बढ्दै आएको अवस्थालाई ध्यानमा राखी बिसीसी युकेले घरमै बसेर ल्होछार मनाउन भक्तजनहरुलाई अनुरोध गरेका थिए । सोही अनुरुप भक्तजनहरुको उपस्थिति एकदमै न्यून रह्यो ।
नेपाली समुदाय बेलायतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तमू धीं युकेका अध्यक्ष हित काजी गुरुङको बिशेष उपस्थितिमा सम्पन्न उक्त ल्होछार कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बिसीसी युकेले विगत केही बर्षदेखि तमू, सोनाम, ग्याल्बो ल्होसारलगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको बताउदै तमू ल्होछारको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । त्यस्तै, बिसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग र बिसीसी युकेका ट्रष्टीज बोर्ड अफ मेम्बर मेजर कुल बहादुर थापाले तमू ल्होछारको अवसरमा आयोजित घ्यासी पूजाले सबैमा सुस्वास्थ्य एवं शान्ति ल्यायोस् भन्दै सबै तमूहरुलाई शुभकामना दिए ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै फेसबुक लाईभ समेत गरिएको उक्त कार्यक्रममा तमू धिं युकेका अध्यक्ष हित काजी गुरुङ, आमा अध्यक्ष सिता (मञ्जु) गुरुङ, उपाध्यक्षत्रृय हरि गुरुङ, जुमकाजी गुरुङ, तुलाराम गुरुङ, कोषाध्यक्ष कमल गुरुङ लगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा लगाई स्वागत गरेको थिए । त्यस्तै, बिसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ लगायतलाई पनि खादा लगाई स्वागत गरेका थिए । सो अवसरमा बिसीसी युकेका सल्लाहकार एवं ल्होछार कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङले स्वागत मन्तब्य राख्दै वर्तमान परिस्थितिका कारण सदाझै सामूहिक रुपमा भेलाभई ल्होछार मनाउन नसकिएको बताउँदै तमू धीं युकेका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी, बिसीसी लण्डन शाखा अध्यक्षलगायत सबै भक्तजनहरुलाई ल्होछारको शुभकामना दिए ।

बिसीसी युकेका धर्मगुरुहरु टुकु रिन्पोछे घ्युर्मिद कुन्जाङ्ग र खेन रिन्पोछे कुन्ख्यापले बौद्ध परम्परानुसार संसारभर रहेका मानवजातीको सुख, शान्ति, दिर्घायू र समृद्धिको कामना गर्दै घ्यासी, आयु र छोग पुजा गरेका थिए । सो अवसरमा बिसीसी युके, तमु धिं युके, बिसीसी लण्डन शाखा लगायत भक्तजनहरुले गुरुहरुको नाममा मण्डला अर्पण गरेका थिए । त्यस्तै, धर्मगुरु टुल्कु कुन्जाङ्गले उपस्थित भक्तजनहरुलाई आयुको वाङ्ग (आर्शिवाद) दिएका थिए ।
सो घ्यासी पुजा पश्चात बिसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, आमा अध्यक्ष उर्मिला गुरुङ तथा आमा समूह उपाध्यक्ष हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबिई, मिडिया सेक्रेटरी सविन्द्र कुमार (एसके) गुरुङ, तमु धीं युकेका अध्यक्ष हित काजी गुरुङ तथा कार्यसमितिका पदाधिकारीहरु, सहारा युकेका पूर्व अध्यक्ष मिन (साईला) गुरुङलगायत उपस्थित तमूहरुले गुम्बा परिसर भित्र नयाँ लुंदा समेत फेरेका थिए ।
उक्त पुजा सफलतापूर्वक सम्पन्न गर्नका लागि बिसीसी युकेका धर्मगुरुहरु टुल्कु कुन्जाङ्ग, खेन्पो कुन्ख्याप, खेन्पो थुक्तेन, सहयोगीहरु आईबहादुर गुरुङ, सानु लामा, रामचन्द्र गुरुङलगायतले पुजाको बिशेष तयारी गरेका थिए । त्यस्तै, बिसीसी युकेका अध्यक्षलगायत सिंगो कार्यसमिति, आमा अध्यक्षलगायत आमाहरु, सल्लाहकार, कार्यालय कर्मचारीलगायत भक्तजनहरुले आ–आफ्नो तर्फबाट बिशेष भूमिका निभाएका थिए । बिसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।






