लन्डन । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले नयाँ वर्ष सन् २०२२ ले शान्ति, न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षको अवसरमा शनिबार १ जनवरी २०२२ मा शुभकामना सन्देश जारी गर्दै विश्वमा नयाँ हौसला, उमंग र चेतनाको लहर ल्याउने र र शान्ति, न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका हुन् । उनले सबैमा सुस्वस्थ्य, दीर्घायु, सुख–शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष सुखद् कोसेलीहरुको पार्सल बोकेर हामीमाझ आइपुगेको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस वर्षमा आधुनिक विज्ञान र प्रविधिले संभव तुल्याएको कोभिड भ्याक्सिन, औषधि र हाम्रा आफ्नै सतर्कताबाट संसारलाई दु:ख दिने कोभिड महामारीलाई यस धर्तिबाट सदाका लागि बिदा दिई कोभिडमुक्त संसार बनाउनुपर्ने जिम्मेवारी रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् । त्यस्तै यस वर्ष नेपालको लोकतन्त्रले थप परिपक्वता पाउने छ, र परिपूर्ण लोकतन्त्रको दिशामा मुलुक गई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प परिपूर्तिमा महत्वपूर्ण उपलब्धि हाँसिल हुने पनि विश्वास व्यक्त गरिएको छ ।







