
पाल्पा २ जनवरी । पाल्पामा मलामी चढेको बस आइतबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार
दुर्घटना भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए । प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ ।






