एनआरएनएहरुलाई अर्थमन्त्री शर्माको आग्रह- ‘थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ’

SHARE:

लन्डन ११ जनवरी । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैं लाभान्वित हुन आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेद्वारा सोमबार आयोजित एक वेबीनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईंहरुलाई पनि फाइदा पुग्ने छ’–उनले भने ।

अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर लगानी आवश्यक पर्ने र त्यसका लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यस अघि रहेको १०,००० डलरलाई घटाएर ५,००० डलर र २ वर्षलाई घटाएर १ वर्ष गरिएको बताए ।

केहि बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्ने मध्यम बन्ने आशा पनि उनले व्यक्त गरे । उनले कार्यान्वयनका क्रममा केही समस्या आए त्यसलाई तत्काल सम्बोधन गरिने बताए ।

अर्थ सचिव मधु मरासिनीले यस भन्दा पहिला पनि डलरमा खाता खोल्न पाइने भएपनि यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए ।

‘तपाईं जहां हुनुहुन्छ त्यहींबाट खाता खोल्न पाइन्छ, फिर्ता लान पनि पाइन्छ । पैसासंग भावना र माया पनि जोडिन्छ । तपाईंहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ’, उनले भने–‘हाम्रो सम्बन्ध जीवन्त राख्छ, सम्बन्धको सेतुको रुपमा काम गर्छ भन्ने अपेक्षा हाम्रो छ । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ ।’

देशलाई माया गर्दा वचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताका लागि उनले अनुरोध गरे ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिंदै यसले संसारभर रहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफूसंग रहेको वचत नेपाल भित्रयाउन सहज हुने विश्वास व्यक्त गरे । उनले संघले स्थापना कालदेखि नै नेपालको समृद्धि र विकासका लागि साझेदारको रुपमा काम गर्दै आएको स्मरण पनि गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!