लण्डन पुष ३० ।

बेलायतमा पूरा डोज खोप लगाएकाहरुमा कोरोना पोजेटिभ देखिएमा पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतको संसदमा सो जानकारी दिएका हुन् । यो नियम आगामी सोमबारदेखि लागू हुने बताइएको छ ।उनले बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै कोरोना संक्रमित दुईतिहाई मानिसहरुमा पाँच दिनपछि अरुमा संक्रमण सार्न सक्ने सम्भावना नहुने भएकाले सरकारले सो निर्णय गरेको बताएका छन् ।
यसअघि इङल्याण्डमा कोरोना संक्रमित भएमा सात दिन आइसोलेसनमा बस्नपर्ने नियम रहेको थियो । नयाँ नियमअनुसार आइसोलेसनबाट बाहिर आउनुअघि दुईपटक टेष्ट भने गर्नपर्नेछ । जनस्वास्थ्यविद्हरुले भने सरकारको निर्णयको आलोचना गरेका छन् । अमेरिकामा यसअघि नै आइसोलेसन अवधि पाँच दिनमा झारिसकिएको छ ।
बेलायतमा ओमिक्रोनको संक्रमणका कारण अत्यावश्यक सेवाका कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा बस्दा सेवामा नै गम्भीर असर परेको छ ।






