लन्डन २१ जनवरी । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष एवं भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् ।
गत अक्टोबर २०२० मा घोषणा गरिएको ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक गुरुङलाई दिइएको हो । पदक बेलायती महारानी एलिजावेथ द्वितियाकी सुपुत्री राजकुमारी एनी (केजी, केटी, जिसिभिओ, क्यूएसओ, सिडी) को हातबाट बकिङहम प्यालेसमा आयोजित समारोहबीच प्रदान गरिएको गुरुङले जनाए । परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने उक्त पदक थोरै नेपालीले पाएका छन् । नेपाल र बेलायतका लागि अतुलनीय र उदाहरणीय सामाजिक योगदान गरेवापत सो पदक पाएपछि आफूलाई परोपकारी कार्यमा लाग्न अझ प्रेरित गरेको उनले बताए ।
२० वर्ष ब्रिटिस आर्मीमा सेवा गरेर विगत १६ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका गुरुङ आफूलाई मानिसहरूले ‘किङ अफ दि च्यारिटी वर्कर’ भन्दा गर्व लागेको बताए । उनले बेलायत तथा नेपालमा कैयौं उदाहरणीय परोपकारी कार्य गरेका छन् । २६ रोपनी जग्गा किनेर सन् २०१३ मा पोखरामा सहारा एकेडेमी निर्माण गर्दा उनी आर्थिक संयोजक थिए ।
एकेडेमीमा अहिले २४ जना विपन्न बालबालिकालाई गाँस, बास, स्वास्थ्य, खेलजस्ता सुविधा प्रदान भइरहेको छ । महाभूकम्पका बेला सिन्धुपाल्चोकको हाइबुङ उच्च माध्यमिक विद्यालय र गोरखाको गणेश प्राविमा करिब ६० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गर्न पनि उनको प्रमुख भूमिका थियो ।
स्याङ्जाको ओरस्टे मड्किनामा करिब १२ रोपनी जग्गामा करिब ५ करोडको लगानीमा निर्माणाधीन स्वास्थ्य केन्द्रको उनी मुख्य संयोजक हुन् । उनले ओरस्टेस्थित आफ्नो घरमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर नेपाली ढाँचासहित पहिलो सांस्कृतिक संग्रहालय बनाएका छन् । संग्रहालयमा विद्यार्थीलाई नि:शुल्क प्रवेश छ ।






