लण्डन माघ ९ ।

मिर्गौला सम्बन्धी रोगबाट पीडित ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ९ लाख ८९ हजार रुपैयाँ सहयोग पठाइएको छ ।
कास्की माछापुच्छ्रे गाउँपालिका ७, धम्पुस निवासी विश्वकर्मालाई धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो। अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा सरकारको नीति नियमलाई पालना गर्दै उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका ७, धम्पुस गाउँका वडा अध्यक्ष समबहादुर गुरुङ, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ, धम्पुस परिवार यूकेका पूर्व अध्यक्ष अमर गुरुङ, पीडित कुमार विश्वकर्माको परिवार, बृद्ध आमाबुबाहरु साथै आमा समूहको कार्यसमिति र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
बेलायतमा १७६ दाताहरुको नाम तथा सहयोगको सम्पूर्ण विवरण सहसचिव अमृत गुरुङले पढेर सुनाएपछि धम्पुस पोखरी घोताने परिवार यूकेका संरक्षक लेप्टेनेण्ट रिटायर्ड जसबहादुर गुरुङको बाहुलीबाट कुमार विश्वकर्मालाई औपचारिक रुपमा चेक रकम हस्तान्तरण गरिएको थियो । धम्पुस पोखरी घोताने परिवारका प्रथम उपाध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवं पूर्व अध्यक्ष जगबहादुर गुरुङले स्वागत मन्तव्य तथा सचिव कुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
मृगौला पीडित कुमार विश्वकर्माको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।






