लण्डन माघ २९ ।

महिला सहकर्मीमाथि यौन दुर्व्यहारको अभियोग लागेका बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकले सफाइ पाएका छन् ।
आफ्नै महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपसहित लागेको मुद्धामा स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीका ’सपोर्ट स्टाफ’ राइफलम्यान सुजन गुरुङले सफाइ पाएका हुन् । तीन दिनसम्मको बहसपछि शुक्रबार वील्शायरस्थित बल्फोर्ड मिलिटरी कोर्टले गुरुङलाई सफाइ दिएको हो । अदालतसमक्ष बयान दिंदै उनले मादकपदार्थ सेवन गरी नशामा रहेका कारण आफूलाई कुनै सम्झना नरहेको दाबी गरेका थिए ।
कोर्टको सुनुवाईमा दाबी गरिएअनुसार राइफलम्यान गुरुङले आफ्नो परिचय लुकाएर अरु कसैको रुपमा प्रस्तुत भएर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । मादकपदार्थ सेवन गरेर रातको तीन बजे ती महिला सैनिक सुतिरहेको बेला उनलाई आफू अर्को एक गोर्खा सैनिक रहेको भन्दै सुजनले झुक्याउन खोजेका थिए । एक साताअघि ती महिला सैनिकले यौन सम्बन्ध राखेका अर्का सैनिकको परिचय बनाएर उनले फाइदा लिने कोशिश गरेको आरोप थियो ।
सुजनले ती महिला सैनिकलाई साथमा बोकेर ल्याएको रक्सी खान कर गरेर जबर्जस्ती गरेको आरोप लगाइएको थियो ।






