
लन्डन १४ फेब्रुअरी । नेपाली समाज यूकेको अध्यक्षमा कमलप्रसाद राई निर्विरोध निर्वाचित भएका छन् ।
अल्डरटको एम्पायर हलमा शनिबार भएको महाधिवेशनबाट राईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष राई यसअघि समाजका सहअध्यक्ष थिए ।
नयाँ कार्यसमितिको पाँच उपाध्यक्षहरूमा वल्लभ गुरूङ, हुमकुमारी गुरूङ, सुमित्रा राई, युमा लिम्बु र विजय लुम्फुङ्वा रहेका छन् । सचिवमा मिलन चन्द्र राई, सहसचिवहरूमा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बु, कोषाध्यक्षमा विनोदकुमार राई र सहकोषाध्यक्षहरूमा धनकाजी गुरूङ र दिलसिङ मेन्याङ्वो लिम्बु चयन भएका छन् ।
सदस्यहरूमा सुमनचन्द्र राई, प्रास्नाकुमार राई, राजेन्द्र नाल्वो, शुभचन्द्र राई, बलबहादुर राई, टीका मादेन, चन्त वनेम, मैत लिम्बु र सन्तवीर नेम्वाङ रहेका छन् । बाँकी सदस्यहरू भने आगामी बैठकले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य टेकबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष मण्डल संयोजकमा पूर्वउपाध्यक्ष जङ्ग सुनुवार, सचिवमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव रामचन्द्र राई र सदस्यमा समाजका पूर्वअध्यक्ष कमल गुरूङ थिए ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुरमा भट्टराईले भर्चुअल रूपमा प्रमुख अतिथिका रूपमा नेपालबाट सम्बोधन गर्दै पार्टी स्थापना गर्न प्रवासमा रहेका नेता र कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगमी बैशाखमा हुने निर्वाचनका लागि समेत प्रवासका नेपाली समाजहरूको साथ र सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममै पार्टीका केन्दीय सदस्य एवम् प्रवास इञ्चार्ज आङकाजी शेर्पा र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले समेत धारणा राखेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङ राई, एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरूङ, होन्स्लोका मेयर विष्णुबहादुर गुरूङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, नेपाली जनसम्पर्क समिति यूकेकी सभापति कोपिला लिम्बु, महामन्त्री इन्द्रहाङ लिङ्देनलगायत उपस्थित थिए ।






