लण्डन फागुन १४ ।

नेपालीहरुको बाक्लो बसोबास भएको बेलायतको ह्याम्पसायर, डोरसेट र सरे क्षेत्रमा एटीम मेसिन फुटाउने, गहना चोरी गर्ने समूहका पाँच जनाको समूहलाई अदालतले ५० वर्षको जेल सजाय सुनाएको छ ।
विन्चेस्टर क्राउन कोर्टले सो समूहका नाइके डेभिड प्याट्रिक हफलाई १७ वर्ष जेल सजायँ सुनाएको छ । समूहका क्यामरुन चिभर्सलाई आठ वर्ष चार महिना, कोलिन गोल्डिङलाई नौ वर्ष, आडम जोन्सलाई साढे १३ वर्ष, जेसे म्याथ्यूलाई छ वर्ष आठ महिना जेल तोकिएको छ । उनीहरुले एटीएम मेसिन विस्फोट गराइ पैसा लुट्ने गरेका थिए भने घरघरमा डकैती गरी कार, पैसा, गरगहना, मोटरसाइकल, साइकल, कुकुरसमेत चोरी गरेका थिए ।
उनीहरुले विष्फोटकको प्रयोग गरी १४ वटा एटीएम मेसिन फुटाएका थिए । जसमध्ये तीन वटाबाट पैसा लुट्न सफल भएका थिए भने २ लाख ५५ हजार ९२८ पाउण्ड बराबरको भौतिक क्षति पुर्याएका थिए । उनीहरुले एटीएम मेसिन फुटाइ ग्याँस भर्ने र आगो लगाई विष्फोट गराउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्रन ह्याम्पसायर प्रहरीले १५० जना प्रहरी परिचालन गर्नु परेको थियो । उनीहरुले बर्कसायर, साउदह्याम्पटन, फरेनहम, सरे, इस्टली, बोर्नमाउथमा सन् २०१९ र २०२० मा १४ वटा एटीएम मेसिन फुटाएका थिए भने घर डकैती गरी कार, कारको नम्बर प्लेट, गरगहना, मोटरसाइकल, साइकल, कुकुर, उपकरणहरु चोरी गर्ने गरेका थिए ।






