
काठमाडौं । अन्ततः प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले अनुमोदन गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आइतबार अनुमोदन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो ।
एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ ।
बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गरे ।






