नेपाल-बेलायतको सम्बन्ध सुदृढ बनाउने र भूतपूर्व गोर्खालाई समान अधिकार प्रदान गर्नेलगायत कार्यभार रहेको राजदूत आचार्यको भनाइ

तस्बिर : मिलन तमु
लन्डन २८ फेब्रुअरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ ।
राजदूत आचार्यको स्वागतका लागि अल्डरसटस्थित एम्पायर हलमा एक समारोह आयोजना गरिएको हो । औपचारिक कार्यक्रमअघि एनआरएनए यूकेको कार्यालयमा अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, कार्यसमितिका पदाधिकारी तथा सदस्य, एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यलगायतले स्वागत गरेका थिए । त्यसक्रममा गुल्मेली प्रथम नौमती बाजा बजाइएको थियो ।
अध्यक्ष मगरले कार्यालयको विभिन्न जानकारीसहित अवलोकन गराएका थिए । राजदूत आचार्य, उनका धर्मपत्नी, नेपाली दूतावास लन्डनका प्रतिनिधिहरु, गोर्खाज् र नेपालीहरु नौमती बाजासहित सहर परिक्रमा गरी अल्डरसटको एम्पायर हलमा पुगेका थिए । त्यहाँ उपाध्यक्ष रामचन्द्र पोखरेलले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई राजदूत आचार्यले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । अध्यक्ष प्रेम गाहामगरको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्द खरेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै राजदूत आचार्यले आफूलाई एनआरएनए यूके र नेपालीहरुले गरेको भव्य स्वागतका लागि धन्यवाद ज्ञापन गरे । स्वागतले बेलायतमा राजदूतका रुपमा काम गर्न अझ बोझपूर्ण भएको र बढी मेहनत गर्नुपर्ने आफूलाई महसुस भएको उनले बताए ।
उनले बेलायतवासी नेपालीको सद्भाव र सहकार्यबाट बेलायत र नेपालबीचको सम्बन्ध सुदृढ बनाउन आगामी दिनमा दत्तचित्त रहने प्रतिबद्धता जनाए । नेपाल-बेलायत सबभन्दा पुरानो सम्बन्ध भएको राष्ट्र भएको उल्लेख गर्दै राजदूत आचार्यले राजनीतिक सम्बन्ध, कूटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक सम्बन्ध, शैक्षिक, व्यापारिक र पर्यटकीय सम्बन्धलाई विस्तार गर्नु आफ्नो प्रमुख कार्य भएको बताए ।
भएको सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालको आर्थिक रुपान्तरणका लागि सार्थक बनाउने कार्य प्रमुख रहेको उनले औंल्याए । त्यस्तै भूतपूर्व गोर्खाको समान पेन्सन, क्षतिपूर्ति र कल्याणकारी लागि समान हक र अधिकार प्रदान गर्ने महत्वपूर्ण पक्ष भएको पनि बताए ।






