स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

SHARE:

काठमाडौं फागुन १९ ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत आज बिहीवारको कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको बताएका हुन् ।

स्थानीय तह चुनाव प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै उनले चुनावमा भाग लिने राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसक्ने जानकारी दिए । चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको उनले उल्लेख गरे ।

आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति तोकेको छ । त्यस अवधिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन पाइने आयोगले जनाएको छ । यस्तै कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्रै कामय गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने आयोगका प्रवक्ता पौडेलले बताए ।

उनले मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने जानकारी पनि दिए। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै आयोगका प्रवक्ता पौडेलले विद्युतीय मतदान प्रक्रियामा जानु चुनौतीपूर्ण भएकाले त्यो विषय छलफलकै क्रममा रहेको बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!