लन्डन ३ मार्च । गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चाँडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई एक पत्र लेखी गैर आवासीय नेपाली संघ समेतको सहयोगमा झन्डै २०० नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक स्लोभाकिया पुगिसकेको खबरहरुमा जनाइएको उल्लेख गरेका छन् ।
“तर अझै पनि कैयौं नेपालीहरु युक्रेनमै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउन योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ,” उनले पत्रमा लेखेका छन्।
“संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं,” गाहा मगरले भने।






