लण्डन फागुन २३ ।

भूतपूर्व गोर्खाहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि बेलायतलाई नेपालले आव्हान गरेको छ ।
बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतको रक्षा मन्त्रालय एमओडीलाई पत्र लेख्दै नेपाल सरकार र भूतपूर्व गोर्खाप्रतिनिधिका तर्फबाट वार्ताका लागि भएको गृहकार्यबारे औपचारिक जानकारी दिंदै ब्रिटिश पक्षको तयारी सम्बन्धमा जिज्ञासा राखेका हुन् ।
नेपालको मन्त्रिपरिषदले केही दिनअघिमात्र राजदूत आचार्यलाई गोर्खा प्रतिनिधिसम्मिलित ‘जिटुजी’ वार्ताका लागि नेतृत्व गर्न जिम्मा दिने निर्णय गरेको थियो ।दूतावासले गोर्खा संगठनका तर्फबाट वार्ता समितिमा बस्ने अभियन्ताहरुको नाम समेत दिएको जनाइएको छ । नेपाल सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्ने जिम्मा पाए लगत्तै राजदूत आचार्यले शुक्रबार गोर्खा संगठनका अभियन्ताहरुसंग छलफल गरेका थिए ।
छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ गेसो, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी बिजीडब्लुएस, नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन नेसा र गोर्खा जस्टिस ग्रुप आवद्ध दश जना गोर्खा अभियन्ता सहभागी थिए ।






