लण्डन चैत २ ।

बेलायतको स्कटल्याण्ड राज्यमा यही मार्च २० मा जनगणना हुँदैछ ।
बेलायतका चार राज्यमा सधैँ एकैपटक जनगणना हुने गरे पनि कोरोना महामारीका कारण स्कटल्याण्डमा यस वर्ष मात्र जनगणना हुन लागेको हो । बाँकी चार राज्यमा गत वर्ष नै जनगणना भइसकेको छ । मार्च २० लाई जनगणना दिन भनिए पनि फेब्रुअरी २८ देखि नै जनगणना गर्न सकिने बताइएको छ ।
स्कटल्याण्डमा पनि बेलायतका अन्य राज्यहरुमा जस्तै अनलाइनबाट वा कागजको फाराम घरमै मगाएर जनगणनामा भाग लिन सकिने छ । स्कटल्याण्डको जनगणनामा पनि नेपाली मूलका मानिसहरुलाई विभिन्न प्रश्नमा नेपाली लेख्ने सुविधा दिइएको छ ।
आबरडिनमा बसोबास गर्दै आएका अधिवक्ता विदुर खत्री स्कटल्याण्डको जनगणनामा नेपाल र नेपाली छनौट गर्ने सुविधा दिइएकोमा खुशी व्यक्त गरेका छन् गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिका पूर्व सदस्यसमेत रहेका खत्री स्कटल्याण्डबासी नेपालीहरुलाई जनगणनामा नछुट्न अपील गरेका छन् ।






