साहित्य विकास परिषद यूकेको साहित्य तथा कलासंगीत पुरस्कार वैद्य र शर्मालाई

SHARE:

लण्डन चैत ३ ।

 

नेपाली साहित्य विकास परिषद यूकेले यस वर्षको ‘एनएलडिसी’ पुरस्कारबाट बेलायतस्थित दुई सर्जक हिन्दमैञा वैद्य र प्रमोद शर्मालाई सम्मान गर्ने भएको छ ।

वरिष्ठ कवयित्री वैद्यलाई साहित्य तथा गायक शर्मालाई कलासंगीत विधामा ‘एनएलडिसी पुरस्कार २०७८’ प्रदान गरिने घोषणा परिषदले गरेको छ । पुरस्कार छनोट समितिको अध्ययन र मुल्यांकनका आधारमा दुई स्रष्टालाई पुरस्कारको लागि छानिएको परिषदले जनाएको छ । साहित्यतर्फ एनएलडिसी पुरस्कार प्राप्त गर्ने वैद्यलाई पाँच तोला चांदीबाट बनेको र स्वर्ण अक्षरमा कुंदिएको पदक प्रदान गरिनेछ । नगद लिन चाहेमा २१ हजार रुपैंया प्रदान गरिनेछ । परिषदका वर्तमान अध्यक्ष कोमलराज मल्ल र श्रीमती कोहिनुर मल्लले सन् २००९ मा आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको एनएलडिसी पुरस्कारबाट नेपाली भाषा, साहित्य, कला, संगीत, पत्रकारिता लगायतका विधामा योगदान पुर्याउने एक स्रष्टालाई वर्षेनी सम्मान गरिंदै आएको छ ।

त्यस्तै, कलासंगीत विधाको एनएलडिसी पुरस्कार प्राप्त गर्ने गायक शर्मालाई पदक वा उनले चाहेमा नगद २० हजार रुपैंयाबाट सम्मान गरिनेछ । यो पुरस्कार परिषदकै तर्फबाट वर्षेनी प्रदान गरिंदै आएको छ । यस वर्षको एनएलडिसी साहित्य पुरस्कारका लागि छानिएकी कवयित्री वैद्य बेलायतमा रहेर पनि नेपाली साहित्यमा निरन्तर सक्रिय स्रष्टा हुन् । उनका नेपाली भाषाका साथै अंग्रेजी र नेपाल भाषामा समेत गरी आधा दर्जन कवितासंग्रह प्रकाशित छन् । विगत साढे चार दशकदेखि बेलायत बस्दै आएकी उनी सन् १९९५ मा नेपाली साहित्य विकास परिषद स्थापनाभएदेखि नै आबद्ध रहंदै आएकी छन् ।

वैद्यले नेपाली परिकारहरुको प्रवद्र्धनका लागि अंग्रेजी भाषामा पकायन पुस्तक ‘कुकरी बुक’ समेत प्रकाशन गरेकी छन् ।परिषदले उनलाई सन् २०२० मा साहित्य सम्मान रजतवर्ष अभिनन्दनपत्र तथा पदकबाट पनि सम्मान गरेको थियो । कलासंगीत विधाबाट एनएलडिसी पुरस्कारका लागि छनोट भएका गायक शर्मा पनि बेलायतमै रहेर नेपाली संगीतमा निरन्तर सक्रिय कलाकार हुन् । थुप्रै गीतहरु रेकर्ड गराइसकेका उनले विभिन्न कार्यक्रमहरुमार्फत् पनि सांगीतिक प्रस्तुति दिंदै आएका छन् । गायक शर्मा पनि सन् १९९८ देखि नै परिषदमा आबद्ध छन् ।

यसैबीच, नेपाली साहित्य विकास परिषद यूकेले सधैजस्तै यसपटक पनि नेपाली नयाँ वर्षको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिने जनाएको छ । नेपाली नयाँ वर्ष, कवि गोष्ठी र बेलायतका लागि नयाँ राजदूतको स्वागतका लागि आउँदो अप्रिल १२ मा भर्चुअल कार्यक्रम हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!