विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

SHARE:

१९ मार्च नेपाल। म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् ।

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजुभाइमात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु छन् । रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन् ।

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४७ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा रु चार लाखभन्दा बढी कमाई गर्दै आएको बताउनुभयो । “विदेशबाट फर्किएको ९ वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ”, उहाँले भन्नुभयो, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।”

गाउँमै तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गरेको घिमिरेले बताउनुभयो । “आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन”, उहाँले भन्नुभयो ।

त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गर्नुभएको छ । १० रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको घिमिरेले बताउनुभयो । तरकारीसँगै उहाँले गाउँमा धान, गहुँ, मकै, कोदोआदि पनि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ, तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।”

अहिले मानिसहरूले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको घिमिरेको भनाइ छ । आफ्नो गाउँ ठाउँमा कृषि गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । गत वर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा पैसा तिरेर टनेल बनाएको हो, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको घिमिरेकोे गुनासो छ ।

स्वदेशमै केही गर्न चाहने मानिसहरूका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने किसानको भनाइ छ । त्यसैगरी १७ वर्ष भारतीय सेनामा काम गरी सेवा निवृत्त हुनुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले सुरु गरेको कालिजपालन यस क्षेत्रकै रहरलाग्दो व्यवसाय बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यावसायिकरुपमा नै कालिजपालन सुरु गरेका घिमिरेले एक वर्षको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ ।

रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले २०० कालिज हुर्कंदै छन् भने यस अवधिमा उहाँले ६ सय वटा कालिज बिक्री गरिसकेको जानकारी दिनुभयो । लामो अध्ययनपछि उहाँले फापरखेतमा कालिज पाल्ने सोच बनाउनु भएको हो । “भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ४० वर्षीय फरासिला घिमिरेले भन्नुभयो, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”

म्याग्दीमा २०० भन्दा बढी युवा विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । “युवामा बल्ल व्यावसायिक कृषिका बारेमा नयाँ सोच आउँदैछ, नयाँ योजनामा युवा किसान लागेका छन्, परिणाम आउन भने केही समय कुर्नैपर्छ”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भन्नुभयो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!