पोखरा ८ चैत । ‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनमा चितवनको सौराहामा सम्पन्न भएको छ । महाधिवेशनले फोनिजको अध्यक्षमा गजुरधन राई, वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना, महासचिवमा मिलन लिम्बु, संस्थागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा यमन राई, डोने दनुवार, कोषाध्यक्षमा चित्रबहादुर (लाला) गुरुङ, सहकोषाध्यक्षमा सन्चु ब्लोनलाई निर्विरोध निर्वाचित गरेको छ ।
यसरी नै प्रदेश इञ्चार्जहरुमा प्रदेश नं. १ भक्तशेर राई, मधेस प्रदेशमा निरज पिठाकोटे, लुम्बिनीमा यमबहादुर गाहा (मिलन), कर्णाली प्रदेशमा बुद्धिमान पुन मगर र सुदूरपश्चिम इञ्चार्जमा भिमबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
यसरी नै संस्थागत रुपमा संघीय सदस्य निर्विरोध निर्वाचित हुनेहरुमा देवेन्द्र खापुङ लिम्बु, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ, प्रकाश राई रहेका छन् ।
सदस्य महिलाहरुमा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सजता लिम्बु, मञ्जुकुमारी श्रेष्ठ, बिना राई, रोशनी कवर, अल्पसंख्यकमा उद्धव चेपाङ र बिदुर खवास, लेखा समिति सदस्यमा उर्मिला गम्बा रहेका छन्।
सहमति जुट्न नसक्दा केही पदमा भने निर्वाचन सम्पन्न भएको छ । सहमतिको नाममा समय लम्बिदै गएकाले ४०० प्रतिनिधिमध्ये अधिकांश घर फर्किसकेको अवस्थामा करिब १३८ ले मात्रै निर्वाचनमा सहभागी भएकोमा उपाध्यक्ष खुलामा अमरध्वज लामाले ११० मत प्राप्त गर्दै विजयी बने भने मिरा राजभण्डारी अमात्यले २७ मत मात्र प्राप्त गरिन् । यसरी नै उपाध्यक्ष (अल्पसंख्यक) पदमा कमन देवानले ७८ मत प्राप्त गर्दै विजयी र प्रतिस्पर्धी टेकराज थामीले ४१ मतमा चित्त बुझाउनुपर्यो ।
यस्तैगरी खुल्ला सचिव (३) मा समिर बलामी ६६, विश्वराज तामाङ ६१ र बुद्धबीर बाहिङ राईले ५९ मत प्राप्त गर्दै बिजयी भए भने विजयबोध लावती, देवबहादुर पचभैया पराजित भए ।
यसरी नै सचिव (महिला)मा अञ्जना शिल्पकार ७४ मत प्राप्त गर्दै विजयी भइन् भने सरिता श्रेष्ठले ४२ र बिनुमाया राईले २६ मत प्राप्त गरिन् ।
वाग्मती प्रदेशको इञ्चार्जका लागि भएको मतदानमा पेमा लामाले २८ मत प्राप्त गर्दै जित हासिल गरे भने सुरेन्द्रभक्त श्रेष्ठले २६ मतले चित्त बुझाउनु पर्यो ।
सदस्य(खुल्ला)मा बुद्ध योञ्जन लामा ६९, लोकेश लिवाङ ६३, कमलसिंह थारु ६३, गजेन्द्र राई ६१ र हर्कबहादुर घर्ती मगर ५४ मतका साथ संघीय समिति सदस्य बने । यसरी नै निर्वाचनमार्फत नै लेखा समितिको संयोजकमा चन्द्र पन्द्राक लिम्बु ६९ मत प्राप्त गरी विजयी बने भने सुन्दर तरामु, पूर्णभक्त दुवाल, रामचन्द्र कुश्मी पराजित भए । लेखा समितिको सदस्यमा ५३ मत प्राप्त गर्दै भकेन्द्र लावती निर्वाचित भए भने प्रविनकुमार गाहा र रत्नकाजी महर्जन पराजित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच निर्वाचनमा गण्डकी प्रदेशका प्रतिनिधिहरुले बहिष्कार गरेका छन् । सहमतिका नाममा चितवनको गर्मीमा समय अनावश्यक लम्ब्याउँदै जाने, सहमति फोनिजकर्मीहरुबीच नभई राजनीतिक पत्रकार संगठनका नेताहरुसँग आन्तरिक भागबन्डालाई प्रमुखता दिएको, गण्डकीका उम्मेदवारहरुलाई नाम फिर्ता लिन अनावश्यक दबाब दिइरहेको र गण्डकीलाई पदाधिकारीमा सहभागी हुन बञ्चित गराउन खोजेको भन्दै गण्डकीले निर्वाचन प्रक्रियाबाट सामूहिकरुपमा नाम फिर्ता लिएको हो ।
नाम फिर्तामात्रै होइन विगतदेखि गण्डकीलाई पदाधिकारीविहीन बनाइँदै आएको र सातौं महाधिवेशनमा भूगोलको समावेशीतालाई सम्मान नगरिएको भन्दै निर्विरोध भइसकेका प्रदेश इञ्चार्ज एमबी आस्था, सदस्य (महिला) कमला रानाले नाम फिर्ता लिए भने उम्मेदवारहरु सचिव (खुला) दिल श्रीरीष, सचिव (अल्पसंख्यक) मिला दराई र सदस्य(खुला) इतराज (आशिफ) गुरुङले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् ।
सामूहिक नाम फिर्ता लिएका गण्डकीका प्रतिनिधिहरुले भने अब फोनिजमा स्वायत्तताको अभ्यास गर्ने बताएका छन् । हामी हाम्रो भूगोल/प्रदेशमा फोनिजको गतिविधि उदाहरणीय ढंगले अघि बढाउँछौं, अपहेलना सहन नसकिने उनीहरुको सामूहिक भनाइ थियो ।






