विदेशमा बस्ने नेपालीका मागको पक्षमा एमालेको पूर्ण साथ : सांसद लामा

SHARE:

लन्डन २३ मार्च । बेलायत भ्रमणमा रहेकी नेकपा एमालेकी सांसद नविना लामाले गैरआवासीय नेपालीका नागरिकता निरन्तरता, मताधिकार जस्ता मागहरु पूरा गराउन राष्ट्रिय सहमति आवश्यक पर्ने बताएकी छन्।

एमालेनिकट प्रवासी नेपाली मञ्च बेलायतले मंगलबार साँझ साउथ इष्ट लन्डनमा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयहरुमा एउटा पार्टीको मतले मात्रै नपुग्ने स्पष्ट पारिन्।

‘विदेशमा बस्ने नेपालीहरुले उठाउनुभएका मागहरु एकदम जायज छन्। जसको पक्षमा हाम्रो पार्टीबाट पूर्ण साथ रहन्छ’, उनले भनिन्, ‘तर एउटा पार्टीले भनेर मात्र पुग्दैन। सरकार र सबै पार्टीहरु एक ठाउँमा उभिन आवश्यक पर्छ । बरु त्यसका लागि के कस्तो भूमिका आवश्यक हुन्छ, हामी तयार छौं।’

सांसद लामाले नेपाललाई आवश्यक परेको हरेक अवस्थामा विदेशका नेपालीबाट महत्वपूर्ण सहयोग हुँदै आएको स्मरण गर्दै प्रसंग गरिन्।

कार्यक्रममा प्रवासी नेपाली मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले समृद्ध नेपाली र सुखी नेपालीको सपना साकार पार्ने नेकपा एमालेको अभियानमा विदेशस्थित संगठन र कार्यकर्ताहरु सक्रियतापूर्वक सहभागी हुन तत्पर रहेको बताए।

‘हालै कोभिड महामारीको बेलामा हामीले जेजति गर्न सक्यौँ, त्यसले पनि प्रमाणित गरिदिएको छ कि हामी एकजुट भएर लाग्यौँ भने कतिसम्म योगदान सम्भव हुँदो रहेछ’, उनले भने। प्रवासमा बस्ने नेपालीका मताधिकार, नागरिकता जस्ता सरोकारका विषयहरुमा पार्टीले सहयोग गर्नुपर्ने भन्दै अध्यक्ष गुरुङले यी मुद्धाहरुमा युवा नेताहरुबाट थप रचनात्मक भूमिकाको लागि आग्रह गरे।

त्यसअवसरमा मञ्चको अन्तरराष्ट्रिय कमिटी सदस्य कर्ण शाही, युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल, युरोपकी महिला विभाग सचिव कल्पना त्रिपाठी, बेलायत कमिटीका पूर्व अध्यक्ष दिनेश घिमिरे, वर्तमान उपाध्यक्षहरु दासुराम पाण्डे, बालकृष्ण भुषाल, हरिगोविन्द गुरुङ, श्याम शेरचन लगायतले मन्तव्य राखेका थिए।

उनीहरुले नेकपा एमालेले प्रवासमा रहेका आफ्ना कार्यकर्ता र संगठनसँग रहेको ज्ञान, सीप तथा स्रोतको अधिकतम सदुपयोग गर्न सक्नुपर्ने धारणा राखे।

प्रवासी नेपाली मञ्चले प्रवासी नेपालीहरुको मताधिकारको लागि लबिङ गरिरहेको जानकारी गराउँदै उनीहरुले यसलाई साकार पार्न पार्टीबाट सार्थक पहलका लागि आग्रह गरे।

कार्यक्रममा मञ्चनिकट दुई दर्जन कार्यकर्तासंगै सञ्चारकर्मी र समुदायका अगुवा समेतको सहभागिता थियो। मञ्चका बेलायत कमिटी उपाध्यक्ष तुंगभद्र भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सुरेशजंग शाहले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!