आकाश गुरुङ
पोखरा २९ । लोकसँस्कृतिका विशिष्ट व्यक्तित्व, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका लागि युकेबाट ५ लाख ३५ हजार २०० हस्तान्तरण गरिएको छ ।
कोरोनाका कारण सवैको प्रिय वरिष्ठ सँस्कृतिकर्मी, समाजसेवी मेनकाजी गुरुङको श्रीमान श्रीमति दुवैलाई गुमाउन परेको पिडामा सदा स्मरणका लागि हिमाली साँस्कृतिक परिवारले स्थापित गरेको स्मृतिकोषमा सोमबारको एक कार्यक्रमका बिच युकेमा रहनु भएका साथीभाई, शुभचिन्तकहरुद्धारा प्रदान गरिएको रकम स्व.मेनकाजी स्मृतिकोषका लागि संयोजक हिमाली साँस्कृतिक परिवारका मानार्थ सदस्य एवम सल्लाहकार रुद्रकुमारी गुरुङलाई कोषको युके संयोजक सामाजिक अभियन्ता महेस गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभएको हो। यसरी नै उक्त अवसरमा रुपक नन्दा गुरुङले १५ हजार रुपैया समेत रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा युकेको तर्फबाट रकमदाताहरु भोजबहादुर गुरुङ, राम गुरुङ, नरजंग गुरुङ, यसरी नै रुपक गुरुङ गुरुङ, हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचन, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा,उपाध्यक्ष गजबहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङ, कोषाध्यक्ष महादेव न्यौपाने, सहकोषाध्यक्ष सविन गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो।
कोषका लागि रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता महेश गुरुङले तमु धिं युकेका संस्थापक अध्यक्ष तथा स्मृतिकोषको युके अर्का संयोजक मिनप्रसाद गुरुङको विशेष पहलमा संकलित स्मृतिकोष रकमबाट कोष स्थापनाको लक्ष्य र उद्धेश्यलाई परिपूर्ति गर्न सघाउने साथै स्व.गुरुङको सदा स्मरणका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । उक्त रकम युके र युकेबाट हाल पोखरामा रहनुभएका शुभेच्छुकहरुबाट स्वेच्छिक सहयोग गरिएको उनको भनाई थियो । स्मृतिकोष अभियानका संयोजक रुद्रकुमारी गुरुङले रकम ग्रहण गर्दै युकेबाट प्राप्त रकमले कोष स्थापनाका लागि ठूलो सहयोग पुगेकाले सबै सहयोगीहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा स्वर्गीय गुरुङको भाइ एवम् हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले उक्त रकमसहित हालसम्म करिब ३१ लाख रुपैयाँ स्मृतिकोषका लागि रकम जम्मा भएको जानकारी दिए ।






