
लन्डन ३१ मार्च । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजावेथ द्वितीयासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बकिङहम प्यालेसमा बिहीबार मध्याह्न आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कोभिड जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझिन् । त्यसक्रममा उनले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा बेलायत-नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन् ।
राजदूत आचार्यसँगको १० मिनेट लामो संवादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन् । त्यस अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए ।
बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए । ओहोदाको प्रमाणपत्र पेस गर्न जान राजदूतका लागि बकिङहम प्यालेसबाट परम्पराअनुसार विशेष बग्गी पठाइएको थियो । पत्नीसहित राजदूत आचार्य सोही बग्गी चढेर समारोहमा भाग लिन बकिङहम प्यालेस पुगेका थिए ।
बकिङहम प्यालेसको समारोहपछि राजदूत आचार्यलाई बग्गीमै चढाएर लन्डन दूतावाससम्म पुर्याएको थियो ।








