लण्डन चैत २० ।

सन् १९८६ मा स्थापित बेलायतको पुरानो नेपाली सांस्कृतिक संस्था ‘कोसेली’ को नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण भएको छ ।
२ अप्रिल शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीपमा सम्पन्न कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको ८ औं वार्षिक साधारणसभाले रुबी थापाको अध्यक्षतामा तीन वर्षका लागि सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित ११ सदस्यीय कार्यसमितिमा रविना कुंवर कोषाध्यक्ष चुनिइन् भने सदस्यहरुमा गीता थापा नृत्य संयोजक, दिपक श्रेष्ठ संगीत संयोजक, राजकुमार सिंह, सुश्रुत तिमल्सिना, सुरज तुलाचन, संगीता भण्डारी, नृशीमा प्रधानसिंह, सुरज सिंह र आशुतोष थापा चयन भएका छन् ।
निर्वाचन प्रमुख आयुक्त मिन बानियाले नवनिर्वाचित कार्यसमिति घोषणा गरेका थिए भने प्रमुख अतिथी पासा पुच गुथी यूके अध्यक्ष ओजेश सिंहले प्रमाणपत्र प्रदान गरे । नेपाली संघसंस्थामा पदको हानथाप र कलह बढिरहंदा कोसेलीको नेतृत्व हस्तान्तरण उदाहरणीय थियो । कोभिड महामारीका कारण शर्मिला सिंहको कार्यकाल दुई वर्ष लम्बिएर नयां नेतृत्व चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष रुबीले संस्थाको उद्देश्यलाई आत्मसात गर्दै केही पृथक काम गर्ने आफ्नो योजना सुनाइन् । उनले संस्थालाई च्यारिटीमा दर्ता गर्ने, नेपाली नृत्य कक्षा सञ्चालन गर्ने आफ्नो प्राथमिकता पनि बताइन् । अध्यक्ष शर्मिला सिंहको अध्यक्षतामा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथी पासा पुच गुथी यूकेका अध्यक्ष ओजेश सिंह, कोशेली संस्थापक अध्यक्ष मदन थापा, नेपाली साहित्य विकास परिषद यूकेका महासचिव वीरेन्द्र कुंवर, कोडेक यूकेका अध्यक्ष अरुण चालिसे र कोशेलीका पूर्व अध्यक्ष अमृत गुरुङले मन्तव्य दिंदै विदेशमा नेपाली कला संस्कृति जगेर्ना गर्ने आफ्नो लक्ष्यमा कोशेली अझ अगाडि बढोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा महासचिव खेम गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुनम पाठकले आयव्यय विवरण पेश गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा विभिन्न नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो जसमा बेलायतमै हुर्के बढेका किशोर किशोरीले नेपाली गीत गाएका थिए ।






