हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

SHARE:

०४ मार्च २०२२ नेपाल । उच्च हिमाली जिल्ला हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ । हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो । जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठीमा यही चैत २५ गतेदेखि आगामी वैशाख ५ गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो ।

कार्यालयका निमित्त प्रमुख प्रेम सिंहका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने भए पनि हुम्ला भौगोलिक विकटता भएका कारण चैत २५ देखि वैशाख पाँच गतेसम्म खोप लगाएर सम्पन्न गरिने भएको हो । पाँचदेखि छ दिनसम्म स्वास्थ्यकर्मी खटाएर खोप लगाइने भएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेका बालबालिकाका लागि स्वास्थ्यकर्मी खटाइने छ । त्यहाँ यदि हिमपातले र विविध समस्याले स्वास्थ्यकर्मी जान नसके दोस्रो पटकको अभियानमा लगाइने भएको कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो ।

हुम्लाका सातवटा गाउँपालिकामा १५० वटा खोप केन्द्र रहेको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । नाम्खामा १८, सिमकोटमा २५, खार्पुनाथमा १८, सर्केगाडमा २५, चंखेलीमा २५, अदानचुलीमा १९ र ताँजकोटमा २० गरेर १५० वटा खोप केन्द्रबाट यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको हो ।

यस्तै उक्त खोप पाउने बालबालिकाको सङ्ख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोटमा पाँच हजार २८३, खार्पुनाथमा दुई हजार ९३०, सर्केगाडमा चार हजार ९९०, चंखेलीमा दुई हजार ८५५, अदानचुलीमा तीन हजार ९२२ र ताँजकोटमा तीन हजार ७८ बालबालिकालाई खोप लगाइने भएको छ । हुम्ला भौगोलिक विकटता जिल्ला भएकाले चैत २५ देखि वैशाख ५ सम्म नेपाल सरकारको यो अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

टाइफाइड रोगविरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परीयार, नयाँ भैरवी दल गुल्मका सेनानी गणेश खड्का, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओला, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख गेहेन्द्र भण्डारीलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!