काठमाडौं अप्रिल ५ ।

सरकारले विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच वटा अध्यादेश जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेस भए पनि संसदले कानुन बनाउन सकेको छैन ।






