लण्डन अप्रिल ६ ।

गैरआवासीय नेपाली संघ एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुल आचार्य बेलायत आइपुगेका छन् ।
दुई साताअघि सम्पन्न संघको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक उनी आफ्नो कर्मभूमि बेलायत आएका हुन् । बुधबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिएका अध्यक्ष आचार्यलाई उनको परिवार र केही एनआरएनए अभियन्ताहरुले स्वागत गरेका थिए । उनको स्वागतका लागि एनआरएनए यूकेको वर्तमान कार्यसमितिबाट कोषाध्यक्ष विष्णु खरेल, सदस्य सुमन शर्मा, पूर्व महासचिव आरके त्रिपाठी र पूर्व कोषाध्यक्ष दिलरस गुरुङ, अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र कोषाध्यक्ष कमल गुरुङ, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य, शिव कंडेल लगायत विमानस्थल पुगेका थिए ।
बहुअध्यक्षीय प्रणालीमार्फत् डा बद्री केसी र रविना थापासंगै अध्यक्ष बनेका आचार्य पहिलो ६ महिनाका लागि कार्यकारी भूमिकामा छन् । उनी छोटो समयको बेलायत बसाइपछि संघको कामकै लागि नेपाल फर्किने योजनामा रहेको बुझिएको छ। एनआरएनएको जननी मुलुक भनिने बेलायतबाट संघको अध्यक्ष निर्वाचित हुने आचार्य पहिलो हुन् । एनआरएनए यूकेमा सन् २०११-१३ मा अध्यक्ष रहेका उनले पछि आइसीसीमा युरोप संयोजक र उपाध्यक्षको रुपमा एकएक कार्यकाल काम गरेका थिए ।
दुई वर्षअघि पनि अध्यक्ष प्रत्यासी रहेका उनी कुमार पन्तसँग केही मतले पछि परेका थिए । त्यसयता एनआरएनएमा प्रतिपक्षको भूमिकामा देखिएका आचार्य अहिले भने संस्थाको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेका छन्।






