
आदरणीय मगर संघ युकेका संरक्षकहरु,
सल्लाहकारहरु, आजिवन सदस्यहरु, शाखा अध्यक्षहरु,
शाखा समितिका पदाधिकारी र सदस्यहरु तथा सातौँ महाधिवसेवनमा भाग लिने सबै प्रतिनिधिज्यूहरु ।
म सीता पुन मगर को तर्फबाट झोर्ले, जदो, सिमिङ्गपाउ तथा हार्दिक नमन।
हाम्रो प्यारो संस्था मगर संघ युकेको सातौँ महाधिवेसन यही शनिबार ९ अप्रिलमा सम्पन्न हुँदैछ । महाधिवेसनले संघको आगामी कार्यकालका लागि नीति कार्यक्रम बनाउनुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने गर्छ । नयाँ कार्यसमितिको अन्य सबै पदमा सर्वसम्मति भएपनि अध्यक्ष पदमा भने हामी दुई जनाको उम्मेदवारी परेको हुँदा निर्वाचनमा जानुपर्ने अवस्था आएको छ ।
सर्वप्रथम त यसबाट हजुरहरुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छु । मलाई मगर संघमार्फत समुदायको सेवा गर्ने धेरै पहिलेदेखि नै चाहना थियो तर पारिवारिक जिम्मेवारी र गोरखा सैनिक श्रीमानको विभिन्न स्थानमा सरुवाका कारण भनेजस्तो गर्न पाइरहेको थिइनँ । उहाँले सेवाबाट अवकास लिनुभयो र हामीहरु केन्टमा बसोबास गर्न थाल्यौँ । त्यसपछि म मगर संघ केन्ट शाखामा आवद्ध भएर काम गर्न थालेँ । मैले केन्ट शाखामा साँस्कृतिक सहसचिव, मगर महिला संघ केन्टको सचिव हुँदै मगर महिला संघ केन्द्रको पनि सचिव बन्ने मौका पाएँ । साथै मगर संघ केन्द्रीय समितिको उपाध्यक्ष र अहिले वरिष्ठ उपाध्यक्षका रुपमा कार्यरत रही संघको सबैभन्दा ठूलो कार्यक्रम नेपाली ओपन कन्सर्टको संयोजनलगायतका विभिन्न महत्त्वूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेको छु । संघको शाखा समिति, महिला संघ र केन्द्रीय समितिमा दुई कार्यकाल बसेर सिकेको अनुभव, ज्ञान, सीपलाई उपयोग गर्दै बेलायतका मगरहरुको एकता र मगर संघ युकेको गरिमालाई अझै बलियो, दरिलो, भरिलो बनाउन र नयाँ उचाइमा लैजानका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
मगर संघ युकेको स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन भूमिका खेल्नुहुने सबै अग्रजहरुलाई हार्दिक धन्यवाद दिँदै उहाँहरुको कार्यकालमा शुरु भएका संघका दीर्घकालिन कार्यक्रमहरुलाई निरन्तरता दिनेछु । साथै संघलाई समयसँगै अगाडी बढाउनका लागि आफ्नो कार्यकालमा केही नयाँ कार्यक्रम अगाडी बढाउने योजनासमेत बनाएको छु । ती योजनाहरुका साथै संघलाई तपाईहरुकै सहयोग सल्लाह, सुझाव र सहयोगबाट अगाडि बढाउन चाहन्छु । म बोलेर होइन काम गरेर देखाउन चाहन्छु । मगर संघ युकेलाई अल्पकालिन र दीर्घकालिन योजना बनाइ नयाँ उचाइमा लैजाने मेरो ठूलो चाहना छ । युवा, महिलाहरु उल्लेख्य सहभागिता तथा मगर समुदायभित्रका विविधतालाई आत्मसम्मानका समेटी संघलाई एक ढिक्का बनाउन लागि पर्नेछु । अप्रिल ९ तारिख शनिबारका दिन फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस् हल (पुरानो ओकफाम स्कुल) मा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मलाई हजुरहरुको अमूल्य मत प्रदान गरी मलाई मगर संघ युकेको अध्यक्ष पदमा निर्वाचित गराइदिनहुन हार्दिक विनम्र अनुरोध गर्दछु ।
मगर संघ युके बेलायतको नेपाली माझ एक प्रजातान्त्रिक, समाबेसी तथा उदार सस्था को रुपमा परिचित छ। सातौँ महाधिवसेनले अनुभवी तथा जागरुक महिलालाई नेतृत्व गर्ने अवसर प्रदान गरि नौलो इतिहास रच्नेछ भन्नेमा म बिस्वस्त रही तपाईहरुको आशिर्बाद तथा अमुल्य मतको लागि पुन: अनुरोध गर्दछु।
सीता पुनमगर
म्याग्दी हाल आसफोर्ड केन्ट
फोन : 07402017817

मेरा प्रतिवद्धताहरु
मगर संघ युकेको अध्यक्ष बन्नु एउटा ठूलो अवसर र जिम्मेवारी हो । मगर संघको अध्यक्षको समुदायप्रति बृहत उत्तरदायित्व पनि रहन्छ । हामीहरु एकतावद्ध भएका कारण स्थापनाकालदेखि अहिलेसम्म धेरै उपलब्धीहरु पनि हासिल गरेका छौँ । हामीले आफ्नै घर बनाएका छौँ । धेरै वटा परोपकारी कोषहरु खडा गरेका छौँ । धेरै ठूला कार्यक्रमहरु आयोजना गर्ने गरेका छौँ । यी कार्यहरुले मगरहरुलाई निकट र एकतावद्ध बनाएको छ । हामीसित अझै धेरै गर्न सक्ने सम्भावना र गरिरहेका कार्यहरुलाई अझ व्यवस्थित र समयसापेक्ष बनाउन सक्ने सामर्थ्य पनि छ। यही भावना र आत्मविश्वासले मगर संघ युकेको अप्रिल ९ मा हुन गइरहेको सातौ महाधिवेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । संघको नेतृत्व गर्नु विशुद्ध सामाजिक सेवा र निस्वार्थ कार्य हो भन्नेमा म दृढ छु। त्यसैले आगामी कार्यकालमा म मेरा सबै समय मगर संघका लागि समर्पण गर्ने प्रतिवद्धता गर्दछु । म अरु कुनै संघ संस्थाको प्रमुखको रुपमा आवद्ध नभएकाले म संघलाई शतप्रतिशत मेरो तन, मन र धन वचन दिनेछु ।
म मगर संघयुकेको अध्यक्षमा निर्वाचित भएमा संघको उद्देश्य प्राप्त गर्नका लागि निम्न कार्य गर्ने योजना बनाएको छु :
१) मगर संघ युकेले विगतदेखि सन्चालन गर्दै आएका नेपाली ओपन कन्सर्ट, मगर दिवस लगायतका कार्यहरुलाई निरन्तरता दिनेछु । ती कार्यहरुलाई समयसापेक्ष बनाउन संघका अग्रजहरुसित सल्लाह सुझाव लिएर रुपान्तर गर्नेछु । साथै मगर मास्टर तथा पीएचडी ट्रष्ट लगायका कोषहरुलाई अझ सशक्त रुपमा परिचालनका लागि कोसिस गर्नेछु ।
२ ) मगर समुदायको सम्पत्तिका रुपमा रहेको भाषा, संस्कृति, संस्कार, भेषभूषा लगायतका विविधतालाई संघभित्र उत्तिकै समानता र आत्मसम्मान दिई संघलाई सबैको अपनत्व हुने थलोको रुपमा विकास गर्न प्रयत्न गर्नेछु ।
३) मगर संघ युकेलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन पहल गर्नेछु । साथै संघको आर्थिक पक्षलाई पारदर्शी, चुस्तदुरुस्त राख्ने प्रण गर्दछु ।
४) संघको फार्नब्रोस्थित भवनलाई विस्तार गरी संघको आर्थिक आय आर्जनलाई बढाउने योजना बनाएको छु ।
५) मगर संघ युकेमा बेलायतमा हुर्केका नयाँ पुस्ताका युवाहरुको सहभागिता बढाउनेछु । युवाहरु नै भोलिको संघको नेतृत्व हाँक्ने पंक्ति भएकोले उनीहरुको नेतृत्व विकासका लागि आवश्यक कार्यक्रम र उचित जिम्मेवारी दिनेछु ।
६) मेरो कार्यकालमा संघका शाखाहरु र केन्द्रको सम्बन्धलाई अझै बलियो बनाउन विशेष ध्यान दिनेछु । केन्द्रका हरेक गतिविधिहरु र निर्णय प्रक्रियामा शाखालाई जानकारी दिने र सहभागी गराउने छु ।
७) म आफैँ महिला भएको र मगर महिला संघमा समेत नेतृत्व तहमा बसेर काम गरेकाले मगर संघको केन्द्र तथा शाखाहरुमा महिलाको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व वैधानिक रुपमा नै सुनिश्चित गर्न पहल गर्नेछु ।
८) मगर संघ युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको विशुद्ध सामाजिक संस्था हो । त्यसैले म यो संस्थामा राजनीतिक विचार, धार्मिक आस्था र व्यापारिक स्वार्थबाट पृथक राख्ने प्रतिवद्धता गर्दछु ।
९) नेपालमा मगर जागरणको अभियानमा लाग्ने धेरै अग्रजहरु अहिले जीवनको उत्तरार्धमा पुगिसक्नु भएको छ । उहाँहरुको संघर्ष, अनुभव, भोगाइ नयाँ पुस्ताका लागि प्रेरणा बन्नेमा दुई मत छैन । त्यस्तै उहाँहरुको अनुभव प्रकाशन गर्न सकियो भने त्यो एउटा इतिहास बन्नेछ र उहाँहरुप्रति सच्चा सम्मान पनि हुनेछ । त्यसैले मेरो कार्यकालमा मगर संघ युकेले कम्तीमा मगर अग्रजहरुको तीनवटा जीवनी प्रकाशन गर्ने योजना बनाएको छु ।
१०) मगर संघको गतिविधिहरु, सवालहरु प्रभावकारी रुपमा जनमानसमा पुर्याउन लेखक, कवि, साहित्यकार तथा पत्रकारहरुको ठूलो भूमिका हुन्छ । यस क्षेत्रमा मगरहरुको बाक्लो उपस्थिति नहुँदा हाम्रा मौलिक आवाजहरुले उचित स्थान पाउन सकेका छैनन् । मेरो कार्यकालमा यस क्षेत्रलाई प्रोत्साहन गर्न एक पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नेछु ।
११) मगर संघको विधान अंग्रेजीमा मात्र रहेको हुँदा अंग्रेजी भाषा नबुझ्ने धेरै मगर बुबाआमाहरुले विधानमा के लेखिएको छ हेर्न पाउनुभएको छैन । मेरो कार्यकालमा म विधानलाई नेपालीमा पनि अनुवाद गराइ उपलव्ध गराउने प्रतिबद्धता जाहेर गर्दछु ।
१२) बेलायतस्थित नेपाली राजदुतावास, बेलायतका स्थानीय निकायहरु, बेलायतमा रहेका अन्य नेपाली संघ-संस्थाहरूसँग सुमधुर सम्बन्ध स्थापित कायम गरी मगर संघ युकेलाई युकेबासी नेपालीहरुबीच प्रभावशाली संस्थाका रुपमा स्थापित गराउन प्रयास गर्नेछु ।
१३) मगर संघ नेपाल तथा विश्वका विभिन्न देशहरुमा स्थापना भएका मगर संघहरुबीच सम्बन्ध कायम गरी भाइचाराको सम्बन्ध स्थापित गराउन प्रयास गर्नेछु ।
१४) मगर संघ युकेको हितहुने जो कोहिले ल्याउनुहुने कुनै पनि परियोजनामा मेरो पूर्ण समर्थन र त्यसको कार्यानवयन गर्नेछु।
जय मगर संघ युके
धन्यवाद।







