काठमाडौं अप्रिल ७ ।

चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन् ।
‘बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली आज नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै उत्साहित भएको बताए । उनले सगरमाथाको कालापत्थर पुगेर नेपालको सन्देश विश्वलाई दिन चाहेको पनि बताए । नेपाली खानाको संस्कृतिबारे उनीहरूलाई जानकारी गराउँदै उचाइको अनुभव लिन पनि लालाहित रहेको बताए ।
सेफ टोली नेपाल आउन पाएकामा उत्साहित रहेको भन्दै सेफ साहले वास्तविक नेपाल र यहाँको संस्कृति र पहिचानबारे अवगत गराएर नेपालको प्रवद्र्धन गर्न पहल गरिने उल्लेख गरे । बिबिसी सेफ सटोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ । सेफबाट भन डर लीले नेपाल र नेपालीको आतित्थ्यताप्रति आफूहरू उत्साहित रहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने धारणा राखे ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरको आमन्त्रणमा आज नेपाल आइपुगेको ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का फइनालिस्टलाई नेपाल ल्याइएको हो । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएसन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
विमानस्थलमा उल्लेख्य सङ्ख्याको उपस्थितिमा नेपालको संस्कृति झल्कने पहिरनका साथ पञ्चेबाजासहित सेफको टोलीलाई स्वागत गरिएको थियो । नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोषका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आएको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।
निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको वार्षिक साधारणसभामा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरी १२ तारिखकमा काठमाडौँमा ‘फाइन डाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर पुग्ने कार्यक्रम छ । लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जाने सेफ टोली बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टर सेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई उनीहरूमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न गर्न कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने पाटा नेपालले जनाएको छ ।






