अल्डरसट १८ अप्रिल २०२२ । म्याग्दी जिल्लाबाट बेलायत आई बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना यूके) ले नेपाली नयाँ वर्ष शुभकामना साँझ मनाउने भएको छ ।
संस्थाको वरिष्ठा उपाध्यक्ष लाल पुन एवं महासचिव विष्णु भण्डारीले जानकारी दिएअनुसार शुभकामना साँझ अल्डरसटको एम्पायर हलमा अप्रिल ३० तारिख शनिबार हुने कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य हुनेछन् ।
संस्थाको स्थापनाकालदेखि नै प्रत्येक वर्ष मनाउँदै आएको कार्यक्रम कोभिड १९ का कारण ३ वर्ष मनाउन पाएका थिएनन् । बेलायतमा कोभिड संक्रमण अलि कम भएपछि नयाँ कार्यसमिति गठन भएलगत्तै उक्त कार्यक्रम गर्ने भएको हो । गत डिसेम्बरमा कुमार फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
म्याग्दीको माटोमा जन्मिएका चर्चित सांरगी साधक एवं लोकदोहोरी गायक हेमन्त कान्छा रसाइली र बागलुङमा जन्मिएर मराङमा विवाह गरेकी सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका विमला श्रीस आमन्त्रित अतिथि कलाकार रहने मोना यूकेले जनाएको छ । विभिन्न प्रतियोगितामा उत्कृष्ट पदक पाएका रसाइली म्याग्दीको चिउरीबोट निवासी हुन् । हाल चर्चित एवं सुन्दरी गायिका विमला श्रीस र मेहन्त काठमाडौंमै बसेर दोहोरी साँझमा कार्यरत छन् ।
नेपाली नयाँ वर्ष २०७९ शुभकामना साँझका लागि धौलागिरी नौमती बाजा, सोरठी नाच तथा विभिन्न नृत्य रहने सांस्कृतिक सचिव नुनु पाइजा एवं महिला उपाध्यक्ष धन रोकाले बताएका छन् । उक्त दिन बेलायत बस्ने सम्पूर्ण म्याग्देलीहरुलाई अनिवार्य उपस्थितिका लागि निम्ता गरिएको छ ।
कार्यक्रममा अन्य जिल्लावासीका अध्यक्षहरुलाई समेत निम्ता गरिएको छ ।






