
लन्डन २३ अप्रिल २०२२ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले आइतबार आयोजना गर्ने च्यारिटी डिनरका लागि चर्चित लोक तथा दोहोरी कलाकारद्वय कृष्ण अखेली र तुलसा क्षेत्री बेलायत आइपुगेका छन् ।
कलाकारद्वय अखेली र क्षेत्री शुक्रबार बेलुकी हिथ्रो विमानस्थलमा ओर्लिएका हुन् । कलाकारहरुको स्वागतका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका संरक्षक रोहित गुरुङ, संरक्षक एवं कार्यक्रम संयोजक पुरन गिरी, अध्यक्ष वाचस्पति रेग्मी, उपाध्यक्ष विक्रम भट्टराई, सचिव हरि भट्टराई, कोषाध्यक्ष निराज शर्मालगायत एयरपोर्ट पुगेका थिए । गायक अखेलीको ‘के होला कोसेली भिर्नी झोलामा ?’ लगायत गीत चर्चामा रहेको छ ।
शिव कल्चरल यूकेले एम्पायर हलमा आइतबार बेलुकी साढे ५ बजेदेखि च्यारिटी डिनर नाइट राखेको छ । सहभागीका लागि प्रवेश शुल्क २५ पाउन्ड तोकिएको अध्यक्ष रेग्मीले जानकारी दिए । उनका अनुसार नेपालबाट आमन्त्रित कलाकारहरुको दर्जनौं गीतहरु प्रस्तुति रहने छ भने बेलायतमा रहेका कलाहरुले पनि प्रस्तुति दिनेछन् । सयपत्र कल्चरल ग्रुपले नृत्य देखाउने छ ।
अध्यक्ष रेग्मीले शिव मन्दिर निर्माण भइसकेकोले अब त्यसको नियमित कार्य सञ्चालनार्थ च्यारिटी डिनर कार्यक्रम राखिएको जानकारी दिए । उनले कार्यक्रममा सहभागी भइदिन बेलायतमा रहेका नेपाली समुदायलाई अनुरोध गरेका छन् ।







