लण्डन अप्रिल २६ ।

एनआरएनए यूकेको राज्य समन्वय परिषद नर्दन आयरल्यान्डले आफ्ना सल्लाहकार मनोनित गरेको छ ।
सोमबार परिषदका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पाँच जनालाई सल्लाहकार मनोनित गरेको हो । परिषदमा मनोनित सल्लाहकारमा नारायण कुँवर, लक्ष्मण चिमरिया, लीलाराम निउरे, शान्ता कंडेल र गोमा खड्का छन् । नवमनोनित सल्लाहकारहरुलाई परिषदको आगामी बैठकमा निम्त्याएर स्वागत गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरिने परिषदले जनाएको छ ।
परिषदका अध्यक्ष थापाले नर्दन आयरल्याण्डमा एनआरएनए अभियान र स्थानीय नेपाली समुदायको हितमा महत्वपूर्ण योगदान गरेका व्यक्तित्वहरुलाई सल्लाहकार मनोनित गरिएको बताए। ‘उहाँहरुको मार्गदर्शनमा अब हाम्रो अभियान थप प्रभावकारी र मजबुद भएर अघि बढ्ने आशा हामीले गरेका छौं’, उनले भने । परिषदले अध्ययनका लागि नर्दन आयरल्याण्डमा आएका नेपाली विद्यार्थीहरुसँग एक अन्तरक्रिया गर्ने भएको छ। नर्दन आयरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीका समस्याहरु बुझ्ने र सक्दो सहयोग तथा सल्लाह उपलब्ध गराउने उद्धेश्यले आगामी मे ८ मा कार्यक्रम गर्ने निर्णय गरिएको छ।
परिषदका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष छमबहादुर रेग्मी, सचिव विष्णुबहादुर क्षेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सदस्यहरु दिलिप आचार्य र भूमिश्वर सापकोटाको सहभागिता थियो ।






