काठमाडौं वेशाख १६ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निरन्तर काम गर्ने बाटो खुलेको छ।
सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेसँगै काम गर्ने बाटो खुलेको हो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश सुनाएको हो।
गभर्नर अधिकारीले आफूविरुद्ध गठित छानबिन समिति खारेजीको माग गर्दै वैशाख ४ गते रिट दायर गरेका थिए। गत चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो।
जाँचबुझ समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए। न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए।






