काठमाडौं वैशाख १७ ।

यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार यही बैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि शनिबार निर्वाचन चिह्न प्रदान गरिएको हो । राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो ।
आयोगको सूचना प्रणालीमा उम्मेदवारहरूको अन्तिम सूची र निर्वाचन चिह्न प्रदानको अवस्थाबारे विवरण प्रविष्टि भइरहेको छ । छवटा महानगर र भक्तपुरको मतपत्र छाप्न बाँकी रहेकाले तीभन्दा अन्य पालिकाका लागि छपाइ भएका मतपत्रको विवरण निर्वाचन आयोगको वेबसाइटमा समावेश गरिएको छ । राष्ट्रिय मान्यताप्राप्ततर्फ नेकपा एमालेलाई ‘सूर्य’, नेपाली कांग्रेसलाई ‘रुख’, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्रको ‘हसिया हथौडा’, जनता समाजवादी पार्टीको ‘छाता’, लोकतान्त्रिक समाजवादी पार्टीलाई ‘साइकल’, र नेकपा एकीकृत समाजवादीलाई ‘कलम’ चिह्न दिइएको छ ।
निर्वाचन आयोगमा दर्ता एका ७९ वटा दलमध्ये ६६ वटा दलले उम्मेदवारी दिएका थिए । आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि गत फागुन ५ गते सूचना जारी गरेको थियो ।






