काठमाडौं वैशाख २० । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा सञ्चालन भइरहेको जनकल्याण सामुदायिक पाठशालालाई चिम्खोले काइँला अक्षय कोषबाट दुई थान ल्यापटप प्राप्त भएको छ । विद्यालयमा शैक्षिक गुस्तरीयताका लागि टेवा पुगोस् भन्ने उद्देश्यले बेलायत निवासी मगर संघ यूकेका पूर्वअध्यक्ष, साहित्यकार एवं एभरेस्ट टाइम्सका सम्पादक दुत पुनले सञ्चालन गरेको अक्षय कोषबाट यस वर्ष जनकल्याण पाठशालालाई ल्यापटप सहयोग गरिएको हो । ।

विद्यालय प्रागंणमा सोमबार आयोजित सहयोग हस्तान्तरण तथा विद्यार्थी र अभिभावक सम्मान कार्यक्रममा प्रमुख अतिथि पञ्चासे हर्पनडाँडा समाज यूकेका महासचिव, एनआरएनए यूकेका सल्लाहकार, गोर्खा मिडिया अनलाइनका सहसम्पादक एवं बीजी डब्लुएसका प्रवक्ता प्रकाश गुरुङले नगद तथा ल्पापटप हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा प हर्पनडाँडा समाज यूके र माइला कान्छा (माया गुरुङ र पार्वती गुरुङ) बाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा सञ्चालन भइरहेको जनकल्याण सामुदायिक पाठशालालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
प्रिन्सिपल डीबी क्षेत्रीलाई १ लाख ५० हजार रुपैयाँ नगर हस्तान्तरण गरेका हुन् । सहयोग रकममध्ये पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ५० हजार, महासचिव गुरुङको तर्फबाट ५० हजार तथा समाजसेवी माया र पार्वती गुरुङको माइला कान्छा अभियानबाट ५० हजार उपलब्ध गराइएको छ ।
प्रमुख अतिथि समाजसेवी गुरुङले यसअघि पनि जनकल्याण विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गरेका थिए । माइला कान्छा अभियानले भने बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमुको पहलमा पहिलो पटक सहयोग गरेको आयोजकले जनाएको छ ।

सोमबार नै गत शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाफल प्रिन्सिपल डीबी क्षेत्रीले सुनाए । परीक्षामा उत्कृष्ट विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, राम्रो कार्यकौशल प्रस्तुत गर्ने शिक्षक र विद्यालयको हरेक गतिविधिमा सक्रिय अभिभावकलाई समेत पुरस्कार दिइएको थियो । अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीका लागि अष्ट्रेलियामा रहेका पञ्चकन्या ३ निवासी मछिन्द्र विष्टका छोरा मानष र मिलाषको तर्फबाट ७ हजार रुपैयाँको पुरष्कार प्रायोजन भएको थियो । विद्यार्थीहरुलाई प्रमुख अतिथि गुरुङ, प्रिन्सिपल क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि प्रकाश गुरुङले विद्यालयलाई निरन्तरता दिने प्रयास गर्न आग्रह गर्दै फेरि पनि सहयोग गर्ने वचन दिए । पोखरामा आफ्नो आमासँगको बसाइ एक दिन छोट्याएर विद्यालय सहयोग हस्तान्तरणका लागि उपस्थित भएको जानकारी दिदै उनले बेलायतमा अरु पनि संस्था साथी रहेकोले भविष्यमा आवश्यक सहयोग गर्ने बताए । उनले शिक्षा एकदमै महत्वपूर्ण रहेको नानीबाबुहरुका लागि सहयोग गरिदिन अभिभावकहरुलाई आग्रह गरे ।
विद्यालयका प्रमुख गुठियार एवं पञ्चकन्या जनकल्याण युवा समाजका अध्यक्ष टीकाराम तामाङले प्राप्त सहयोग पारदर्शी र सदुपयोग गर्ने प्रतिबद्धता जनाउँदै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे । उनले गुणस्तरीय शिक्षा गाउँठाउँमै दिनुपर्छ भन्ने उद्देश्यले पञ्चकन्या जनकल्याण युवा समाजद्वारा सञ्चालित मुनाफा रहित विद्यालयलाई हरसम्भव निरन्तरता रुपमा सञ्चालन गर्ने अठोट व्यक्त गरे । विद्यालयको निरन्तरताका लागि स्थानीय सरकार, अभिभावक, विद्यार्थी र सरोकारवाला सबैको साथ र सहयोग रहने अपेक्षा पनि व्यक्त गरे ।

प्रिन्सिपल डिबी क्षेत्रीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको र आफू अझै खटिन तयार रहेको बताए । यस्तै पञ्चकन्या जनकल्याण युवा समाजका कोषाध्यक्ष एवं विद्यालय सञ्चालक रामहरि भण्डारी विद्यालयको संक्षिप्त इतिहास सुनाउनुहुँदै देश विदेशमा रहेका सहयोग दाता र अभिभावक अनि स्थानीयलाई पुनस्सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा शिक्षिका मनिषा तामाङको कोरियोग्राफीमा तामाङ सेलोमा सुजाता तामाङ एकल र लेकका हामी केटाकेटी गीतमा गौरव विष्ट, सुशन तामाङ र नान्छी तामाङले नृत्य गरेका थिए । कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका रोजगार संयोजक तथा पञ्चकन्या जनकल्याण युवा समाजका सचिव सरोजकुमार खाती, सदस्य रामकुमार कार्की, जेष्ठ नागरिक एवं पञ्चकन्या मन्दिरका मूल पुजारी तथा झाँकी लालबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका सदस्य केशव पराजुली, भगवान विष्ट, शिक्षकरशिक्षिका, अभिभावक, विद्यार्थी र स्थानीयको सहभागिता थियो ।







