काठमाडौं मे १३

नेपालमा स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ ।
संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो ।अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् । एकै चरणमा स्थानीय तह निर्वाचन २०४७ पछि पहिलो पटक हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका जनप्रतिनिधि छनौटको लागि आज मतदान सुरु भएको हो ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर नगरपालिका–१७ को निर्वाचनबाहेक सबै स्थानीय तहमा आज मतदान सुरु भएको हो । यी दुई स्थानीय तहका उम्मेदवारको निधन भएकोले जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । देशभर १० हजार ७५६ मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गर्दैछन् ।
मतदाताहरूको मदाधिकार प्रयोगबाट निर्वाचनबाट ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्। यस वर्षको निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ। आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन्। यसमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् ।
परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।






