काठमाडौँ २० मे २०२२ । नेपालमा स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । शुक्रबार मध्याह्नसम्म मतगणना सकिएका ६४९ मध्ये ४७० पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस २९२ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) ११२ पालिकामा विजयी भएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले १७९ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो ।
यसैगरी कांग्रेसले २६४ उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमाले २०२, माओवादी केन्द्र ११९, जनता समाजवादी पार्टी नेपाल २१ र एकीकृत समाजवादी २१ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ ।






