काठमाडौँ २१ मे २०२२ । नेपालमा स्थानीय तह निर्वाचनअन्तर्गत एक महानगरसहित ६८८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
शनिबार बिहान पौने बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८८ स्थानको परिणाम सार्वजनिक भएको हो । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ ।
परिणामअनुसार ३०६ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८७, माओवादी केन्द्रले ११७ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २४, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।
उपप्रमुखतर्फ कांग्रेस २८०, एमाले २१३, माओवादी १२१, जसपा २६, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १८ पालिकामा जितेका छन् । अझै काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६० गाउँपालिकाको परिणाम आउन बाँकी छ ।







