
लन्डन २३ मे २०२२ । बुद्ध फाउन्डेसन यूकेको आयोजनामा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती मनाइएको छ ।
लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आइतबार बुद्धजयन्ती कार्यक्रम आयोजना गरिएको हो । दिउँसो बजेपछि सुरु भएको कार्यक्रममा बेलायतभरबाट सयौं नेपालीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालबाट आएका ‘वर्ल्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकबाट राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि रहेका थिए । दिनहुँ संसारभरका हजारौँ मानिसको ओहोरदोहोर हुने ट्राफल्गर स्क्वायरमा आयोजना भएको कार्यक्रममार्फत विश्व शान्तिका लागि बुद्धको सन्देश प्रचारप्रसार साथै विश्वमाझ नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने मौलिक धिमे बाजा, भैरव नाच, थारु नाचददेखि गयिका शर्मिला बर्देवा र गायक दीपक थापाको गायन पनि प्रस्तुति राखेका थिए । कार्यक्रम्ममा बीसीसी यूकेको संयोजनमा शान्तिपूजा, स्याल्पा तेन्जिङ रिम्पोचेको प्रवचन र विश्व शान्तिको कामनासहित सामूहिक दीप प्रज्वलन पनि भएको थियो ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संयोजन फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव लक्ष्मी राई (लारा) र सुर्य गुरुङले गरे ।






