लण्डन मे २७ ।

गोरखा सैनिकहरुले पनि बेलायती सेनाको युद्ध विमान चलाउन पाउने भएका छन् ।
बेलायती सेनाले गत फेब्रुअरीमा हेलीकोप्टर पाइलट बन्नका लागि वान्छनीय योग्यता घटाए पछि गोरखा सैनिकहरु पनि पाइलट बन्न पाउने भएका हुन् ।
बेलायती सेना सबै सेवाका सेनाहरुले अब प्राइभेट दर्जाबाट पाइलट बन्नका लागि आवेदन दिन पाउने छन् । उनीहरुलाई लान्स कर्पोरलमा बढुवाका लागि सिफारिस गरिएको भने हुनुपर्नेछ । यसबाट गोरखा सैनिकहरु पनि उत्साहित बनेका छन् ।
हाल फष्ट एभिएसन ब्रिगेडका सिग्नलर माङसाहाङ लिम्बु यसका उदाहरण हुन् । बेलायती सेनाको फोर्सेज नेटवर्कका अनुसार गोरखा सैनिक लिम्बु बेलायती सेनाको युद्ध विमान चलाउने पहिलो गोरखा सैनिक बन्न चाहन्छन् । अपाचे हेलिकोप्टरमा अत्याधुनिक प्रविधिसहित हतियारहरु सुसज्जित हुन्छ । अपाचेले दुश्मनको ट्याङ्क, बख्तरबन्द सवारीसाधन पत्ता लगाउनका साथै ध्वस्त बनाउने गर्छ । इराक, अफगानिस्तानका पछिल्ला लडाइँहरुमा यसको व्यापक प्रयोग गरिएको छ ।
अपाचे उडाउनु उनले ठूलो सपना जस्तो मानेका छन् । आफ्नो लागि मात्र नभई सबैको लागि ठूलो सफलता हुने उनले बताए । अहिले फष्ट बटालियनमा ब्रिगेडमा अपाचे उडान गर्नुअघि सबै चीज ठीक छ कि छैन भन्ने उनको काम छ ।






