
लन्डन २९ मे २०२२ । किरात राई यायोक्खा बेलायतको आयोजनामा किरात राई समुदायको महान् पर्व साकेला उभौली २०२२ भव्य रूपमा मनाइएको छ । २८ मेमा मेजर योगेश कोयी राईको अध्यक्षतामा रहेको समितिले पनि साकेला उभौली भव्य रूपमा मनाएको छ । कार्यक्रम बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । त्यसैगरी, किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई तथा सचिब हेमन्त कुमार राई समेत सहभागी भएका थिए ।
त्यस्तै, लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा.महावीर पुन, एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले बोल्दै साकेला उभौली पर्वको शुभकामना व्यक्त गरेका थिए ।
साकेला उभौली वैशाख पूर्णिमा हुनु १५ दिनअघि सुरु हुने गर्छ । नेपालको माझ किरात खम्बुवान क्षेत्रबाट फैलिएको यो पर्व नेपालका पूर्वी जिल्लाहरू, काठमाडौं उपत्यका र विदेशमा भव्य रूपले मनाउने गरिँदै आएको छ । उभौली नयाँ धान, अन्नबाली लगाउनअघि पितृ, कूल देवताहरूलाई चढाउँदै मुन्दुम फलाकेर मनाउने गरिन्छ ।






